समाचार

"काठमाडौँ महानगरको कवाड व्यवसायीमाथि चर्को धरपकड, संसदमा उठ्यो विवाद!"

"काठमाडौँ महानगरको कवाड व्यवसायीमाथि चर्को धरपकड, संसदमा उठ्यो विवाद!"

काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गरेको चर्को धरपकडको विषय संसदमा उठेको छ। आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद नागिना यादवले कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गरिन्।

सांसद यादवले काठमाडौं महानगरपालिकाको अराजक र अपहरणको शैलीमा कवाड व्यवसायीहरूको भौतिक संरचना तोडफोड र सामान जफत गर्ने कार्यप्रति आपत्ति जनाइन्। उनले कवाड व्यवसायको महत्व सम्झाउँदै, यसले उद्योगहरुलाई कच्चा पदार्थ आपूर्ति र व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरिन्।

उनले व्यवसायीमाथि भइरहेको कुटपिट र अभद्र व्यवहारका घटनाहरूको तत्काल रोकथाम गर्न माग गर्दै भनिन्, "कवाड व्यवसायीहरूले नेपाल सरकारको प्रचलित कानून अनुसार, सम्बन्धित निकायको अनुमतिमा काठमाडौँ महानगरपालिकाको विभिन्न वडामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनीहरूले सरकारलाई तिर्नुपर्ने सबै करहरू पनि तिरेका छन्।"

तर, विगत एक वर्षदेखि काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूको सम्पत्ति तोडफोड गर्दै, सामान जफत गर्ने र कुटपिट तथा गालीगलौज जस्ता अभद्र व्यवहार गरेको स्थिति देखिएको छ। यादवले यस्तो अराजक गतिविधिमा रोक लगाई व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरिन्।

काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको कवाड व्यवसाय हटाउने निर्णयपछि व्यवसायीहरू लामो समयदेखि आन्दोलनरत छन्। उनीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै, महानगर घेराउसमेत गरेका छन्। कवाड व्यवसायीहरूले मेयर बालेन्द्रको क्रूरता र तानाशाही प्रवृत्तिबारे गुनासो गरिरहेका छन्।