प्रविधि

भारत-नेपाल स्टार्टअप कनेक्ट: डिजिटल युगमा सीमापार सहकार्यको सुनौलो अवसर

भारत-नेपाल स्टार्टअप कनेक्ट: डिजिटल युगमा सीमापार सहकार्यको सुनौलो अवसर

भारतको काठमाडौँस्थित राजदूतावासले २०२५ फेब्रुअरी ७ मा दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (SMK) 2025 को पर्दा उघार्ने कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ प्रमुख अतिथिका रूपमा सहभागी भए।

उद्घाटन सत्र अघिको गोलमेच छलफलमा भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (DPIIT)स्टार्टअप इण्डियानेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF)नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (NAS-IT)फिनटेक एलायन्स अफ नेपाल (FAN)रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN)नेपाल हब (NHub)एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्सत्रिभुवन विश्वविद्यालयनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST)काठमाडौँ विश्वविद्यालय तथा नेपालका विभिन्न स्टार्टअपका प्रतिनिधिहरू सहभागी भए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले नेपालमा सूचना प्रविधि क्षेत्रमा भइरहेको विकासले स्टार्टअपहरूको लागि सिर्जना गरेको अवसरबारे प्रकाश पारे। उनले नेपाल र भारतबीचको विशेष सम्बन्ध र दुई देशका नागरिकहरूका लागि एकआपसमा कार्य गर्न सहज वातावरण रहेको उल्लेख गर्दै नेपाली कम्पनीहरूलाई स्टार्टअप महाकुम्भ २०२५ मा सहभागी हुन प्रेरित गरे। भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा स्टार्टअप संस्कृति युवामाझ कसरी मूल प्रवाहमा समावेश भइरहेको छ भन्ने चर्चा गर्दै डिजिटल सार्वजनिक पूर्वाधार (DPI) को वृद्धिले डिजिटल परिवर्तनलाई तीव्र बनाएको बताए। उनले नेपाल र भारतबीच FonePay र UPI को अन्तरसञ्चालनमार्फत २०२४ को मार्चदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यापारी कारोबार सम्पन्न भइसकेको उदाहरण पेश गरे।

भारत सरकारका DPIITका संयुक्त सचिव सञ्जीवले स्टार्टअप महाकुम्भ २०२५ को विस्तृत जानकारी दिँदै उक्त कार्यक्रम विश्वव्यापी स्टार्टअपहरूका लागि प्रमुख मञ्च बन्न पुगेको उल्लेख गरे। कार्यक्रममा ३,००० भन्दा बढी प्रदर्शक, १०,००० स्टार्टअप, १,००० लगानीकर्ता, इन्क्युबेटर तथा एक्सिलेटरहरू सहभागी हुने र भारत तथा अन्य देशहरूबाट ५०,००० भन्दा बढी व्यवसायी उपस्थित रहने बताए। D2C, फिनटेक, कृत्रिम बुद्धिमत्ता (AI), डीप टेक, साइबर सुरक्षा, रक्षा तथा अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधि/सस्टेनेबिलिटी, B2B तथा सटीक उत्पादन, गेमिङ, इ-स्पोर्ट्स, खेलकुद प्रविधि, बायोटेक तथा स्वास्थ्य सेवा लगायतका क्षेत्रमा नवीनतम प्रविधिहरू प्रदर्शित गरिने जानकारी दिए।

नेपालका औद्योगिक उद्यम विकास संस्थान (IEDI) का कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले नेपाल सरकारको स्टार्टअप नीति प्रस्तुत गरे भने आईआईटी मद्रास प्रवर्तक (Pravartak) का नवप्रवर्तन प्रमुख राजेन्द्र मुथा ले प्रविधि विकास तथा स्टार्टअपहरूलाई उद्योगसँग जोड्ने आईआईटी मद्रासको पहलबारे जानकारी गराए।

कार्यक्रमको पहिलो प्यानल छलफलमा भारत र नेपालमा उदाउँदो प्रविधिमा आधारित स्टार्टअपका अवसरबारे चर्चा भयो। TechXR का CEO प्रशान्त मिश्र ले भर्चुअल रियलिटी (VR) ले पर्यटन अनुभवलाई नयाँ तरिकाले विकास गर्न मद्दत गरेको बताए। F1Soft का सह-संस्थापक अस्गर अली ले नेपालमा नागरिक सेवा प्रवाह गर्न नागरिक एप को भूमिका प्रस्ट्याए। Khalti Wallet का संस्थापक अमित अग्रवाल ले नेपालमा डिजिटल भुक्तानीको विकासबारे जानकारी दिए। आईआईटी मद्रास प्रवर्तकका प्रमुख राजेन्द्र मुथाले उच्च प्रविधि स्टार्टअपहरूको सफलताका कथाहरू प्रस्तुत गरे।

दोस्रो प्यानल छलफल डिजिटल सार्वजनिक पूर्वाधार (DPI) को सामाजिक प्रभावमा केन्द्रित रह्यो। Vriddhi Sanjal Pvt. Ltd. का CEO सिक्सित भट्ट ले नेपालका लागि DPI निर्माण गर्ने प्रयासबारे जानकारी गराए। नेपाल क्लियरिङ हाउस लिमिटेडका CEO निलेशमान प्रधान ले फिनटेक कम्पनीहरूको लागि डिजिटल पूर्वाधार उपलब्ध गराउने नेपाल पे जस्ता उत्पादनहरूको चर्चा गरे। काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा एसोसिएट डिन डा. बलकृष्ण बल ले डिजिटल सार्वजनिक वस्तुहरू निर्माण गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने विश्वविद्यालयका पहलहरू प्रस्तुत गरे। SchoolNet का AVP हिमांशु तिवारी ले भारतको शिक्षा DPI Diksha को अनुभव साझेदारी गरे।

कार्यक्रम समापनको विशेष सम्बोधन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गरे। छलफलका मुख्य निष्कर्षहरूमध्ये नेपाल र भारत दुवै देशका स्टार्टअपहरूका लागि अन्तर्राष्ट्रिय विस्तार गर्न उपयुक्त बजार रहेको, नविनतम प्रविधिहरूको प्रयोग गरी स्टार्टअपहरूले सामाजिक चुनौतीहरू समाधान गर्न सक्ने, नेपालमा डिजिटल सार्वजनिक पूर्वाधारको विकास आगामी पुस्ताका स्टार्टअपहरूको लागि उत्कृष्ट अवसर बन्ने, भारत र नेपालबीचको DPI अन्तरसञ्चालनले थप लाभ दिलाउन सक्ने, नेपाली स्टार्टअपहरूले भारतको लगानी तथा परामर्श सञ्जाल प्रयोग गर्न सक्ने, र IIT मद्रास प्रवर्तक तथा नेपालका विश्वविद्यालयहरूबीच स्टार्टअप इन्क्युबेसन केन्द्र स्थापना गर्नका लागि थप सहकार्य आवश्यक रहेको सुझाव प्रस्तुत गरियो।

भारतको काठमाडौँस्थित भारतीय दूतावासले नेपाल-भारत स्टार्टअप कनेक्ट प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। जनवरी २०२३ मा सम्पन्न पहिलो स्टार्टअप कनेक्ट कार्यक्रमपछिको यो दोस्रो कार्यक्रमले नेपाल र भारतका स्टार्टअप, शैक्षिक संस्थान तथा लगानीकर्ताहरूलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। स्टार्टअप महाकुम्भ २०२५ मा सहभागी हुन इच्छुक नेपाली संस्थाहरूले [email protected] मा सम्पर्क गर्न सक्नेछन्।

भारतीय दूतावास