धादिङमा भारतको सहयोगमा नयाँ प्रसूति केन्द्र: नेपालको स्वास्थ्य सेवामा सुधारको आशा
धादिङको खानीयाबास गाउँपालिकामा निर्माण गरिने कुरी स्वास्थ्य चौकी-प्रसूति केन्द्र भवन को शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न भयो। उक्त कार्यक्रममा संविधानसभा सदस्य दिलमान पाक्हरिन, खानीयाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा नेपालस्थित भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन को उपस्थिति रहेको थियो। भारत सरकारको नेपाल-भारत विकास सहयोग कार्यक्रम अन्तर्गत यस परियोजनाले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ बनाउने लक्ष्य राखेको छ।
कुरी स्वास्थ्य चौकी-प्रसूति केन्द्र भारत सरकारको रु. २५.१० करोड आर्थिक सहयोगमा निर्माण हुँदैछ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत पर्ने यस परियोजनामा प्रसूति केन्द्रका साथै गार्ड हाउस, कम्पाउण्ड पर्खाल, क्यान्टिन ब्लक, पैदलमार्ग तथा अन्य आवश्यक पूर्वाधारहरूको निर्माण गरिनेछ। शिलान्यास समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सामाजिक कार्यकर्ताहरू को उपस्थिति रहेको थियो, जसले नेपालमा भारतको निरन्तर विकास सहयोगको सराहना गरे।
समारोहका क्रममा खानीयाबास गाउँपालिकाका अधिकारीहरू तथा अन्य सरोकारवालाहरूले नेपालको सामाजिक तथा भौतिक पूर्वाधार विकासमा भारतको निरन्तर योगदानको प्रशंसा गरे। यो प्रसूति केन्द्रले विशेष गरी आमासहित नवजात शिशुहरूका लागि प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ, जसले स्थानीय समुदायका लागि अत्यावश्यक चिकित्सा सहयोग सुनिश्चित गर्नेछ।
सन् २००३ देखि भारत सरकारले नेपालभर ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (HICDPs) सञ्चालन गरिसकेको छ, जस मध्ये ४९० परियोजना सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यीमध्ये बागमती प्रदेशमा मात्र १०८ परियोजनाहरू कार्यान्वयनमा छन्। साथै, भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवस को अवसरमा नेपालका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १,००९ एम्बुलेन्स र ३०० स्कुल बसउपहारस्वरूप प्रदान गरिसकेको छ। यसमध्ये धादिङ जिल्लाका विभिन्न संस्थाहरूलाई १५ एम्बुलेन्स र ३ विद्यालय बस प्रदान गरिएका छन्।
भारत र नेपाल छिमेकी राष्ट्रका रूपमा बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्यमा संलग्न रहँदै आएका छन्। HICDP परियोजनाहरूको कार्यान्वयनले नेपालको विकास प्राथमिकता अनुरूप आवश्यक पूर्वाधार निर्माणमा भारत सरकारको निरन्तर प्रतिबद्धता झल्काउँछ। विशेष गरी स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा भारतले नेपालमा लगानी गर्दै आएको छ। धादिङमा निर्माणाधीन यो नयाँ स्वास्थ्य चौकी नेपाल-भारत मैत्री सहकार्यको प्रतिक को रूपमा रहँदै, स्थानीय बासिन्दाहरूलाई अझ प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
भारतीय दूतावास