ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि आखिर के भयो त?

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह हिजो गोर्खाबाट काठमाडौं फर्किंदा विभिन्न स्थानमा स्थानीयले भव्य स्वागत गरे। उनको पक्षमा उत्साही नाराबाजी गुञ्जिए पनि नुवाकोटको बट्टारमा एक महिलाको अप्रत्याशित विरोधले माहोल तनावग्रस्त बनायो।
राजावादीहरूको भिडभित्रैबाट ती महिलाले अचानक ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाइन्। यस्तो अवस्थामा भीडबाट कुनै अप्रिय घटना हुन सक्ने खतरा थियो, तर पूर्वराजाले नै स्थिति सम्हाल्दै उनलाई सुरक्षित रूपमा अगाडि आउन दिए।
पूर्वराजा गोरखाबाट काठमाडौं फर्कने क्रममा बेलुका करिब ५:१५ बजे विदुर नगरपालिका–४ स्थित होटल वाटर टावरमा रोकिने क्रममा यो घटना भएको हो। भीड नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको थियो। पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
पत्रकारमाथि ‘ब्याड टच’ को आरोप
राजासँग फोटो खिच्ने भीड व्यवस्थापन गर्ने क्रममा सुरक्षाकर्मीले एक महिला पत्रकारलाई धकेले, जसका कारण उनले आफूलाई ‘ब्याड टच’ गरिएको दाबी गरिन्। यसै विषयलाई लिएर ती पत्रकार र सुरक्षाकर्मीबीच भनाभन चल्यो।
यता होटल बाहिर राजावादीहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा घन्काए। पूर्वराजा गेटभित्र सर्वसाधारणसँग फोटो खिच्न व्यस्त रहे। तर, विवादले अर्कै मोड लियो जब महिला पत्रकारले आफ्नो मोबाइल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको गुनासो गरिन्।
पूर्वराजाले मिलाए विवाद, तर राजावादीहरू आक्रोशित
मोबाइल फिर्ताको माग गर्दै महिला पत्रकारले ‘ज्ञानेन्द्र शाह मुर्दावाद’को नारा लगाइन्। राजावादीहरूले उनलाई घेरेर चेतावनी दिए। सुरक्षाकर्मीले उनलाई बाहिर जान भने, तर उनले राजासँगै प्रत्यक्ष कुरा गर्ने अडान लिइन्।
पूर्वराजाले घटनालाई नियाल्दै महिलालाई भित्र आउन दिए। उनले उनलाई सोधे, "के भयो? किन चित्त दुखाउनुभयो?"
महिला पत्रकारले आफ्नो मोबाइल खोसिएको गुनासो गरिन्। राजाले तत्काल सुरक्षाकर्मीलाई मोबाइल फिर्ता गर्न निर्देशन दिए। केहीबेरमै उनको मोबाइल फिर्ता भयो। तर, उनले सुरक्षाकर्मीले माफी माग्नुपर्ने अडान लिएपछि राजावादी समर्थकहरूले उनलाई ‘झोले पत्रकार’ भन्दै आक्रोश पोखे।
रुपा अर्यालको ‘साहसिक कदम’ कि नियोजित राजनीति?
बुझिएअनुसार, ती महिला पत्रकार माओवादी निकट रुपा अर्याल थिइन्। अहिले राजाविरोधीहरूले उनलाई ‘साहसी पत्रकार’ भन्दै प्रशंसा गरिरहेका छन्, भने राजावादीहरूले पत्रकारिताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।
पूर्वराजाको भ्रमणले स्वागत र समर्थन त पायो, तर यो अप्रत्याशित घटनाले बहस पनि चर्काएको छ— ‘पत्रकारिता र राजनीतिक नाराबाजीबीचको सीमा कता तान्ने?’
पूर्वराजा ज्ञानेन्द्र शाह