पूर्वराजा ज्ञानेन्द्रको जरिवाना तिर्न विदेशबाट चन्दा अभियान

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको ७ लाख ९३ हजार जरिवाना तिर्न विदेशमा रहेका राजावादीहरुले आर्थिक संकलन अभियान थालेका छन्।
राजसंस्था पुनर्स्थापनाका पक्षधर तथा पूर्वपर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले पोर्चुगलबाट सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका हुन्। ‘विदेशमा बस्ने राष्ट्रवादीले जरिवाना तिरिदिऔं’ भन्दै बास्तोलाले आफैं ५० हजार रुपैयाँ सहयोग गर्दै अभियानको थालनी गरेका छन्।
बालेन शाह नेतृत्वको काठमाडौं महानगरले तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा भएको क्षतिपूर्तिस्वरूप पूर्वराजालाई जरिवाना तोक्ने निर्णय गरेपछि राजावादीहरु आक्रोशित बनेका थिए। यसै क्रममा, विदेशमा रहेका राजसंस्था समर्थकहरुले स्वतःस्फूर्त रूपमा रकम संकलन गर्न थालेका हुन्।
बास्तोलाले संकलित रकम राजावादी नेता अंगत देवकोटाको बैंक खातामा क्युआर कोडमार्फत पठाउन आह्वान गरेका छन्। उनले संकलित रकम काठमाडौं महानगरलाई जनआन्दोलन समितिका सदस्यमार्फत बुझाइने बताएका छन्।
यसअघि, नेपाल सरकारद्वारा पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक नियुक्त भएका बास्तोला पूर्वराजाको फागुन ७ को सम्बोधनको समर्थन गरेपछि पदच्युत भएका थिए।
काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा फोहोर फैलिएको भन्दै पूर्वराजा शाहको नाममा ८ वटा पत्र काट्दै जरिवाना तोकेको हो।