राजावादीको सडक प्रदर्शन,काठमाडौं 'हाई अलर्ट' मा, सेना–प्रहरी तैनाथ

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक साता बसेर आज काठमाडौं फर्किँदै छन्। उनको स्वागतका लागि राजावादी समूहहरू सडकमा उत्रन लागेका छन्, जसका कारण काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नारायणहिटीदेखि विमानस्थलसम्म 'हाई अलर्ट'
काठमाडौंका संवेदनशील क्षेत्रहरूमा आज बिहानैदेखि सुरक्षा सतर्कता बढाइएको छ। नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य चोकहरूमा सुरक्षाकर्मीको व्यापक तैनाथी गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी टेक तामाङका अनुसार भिड नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति अपनाइएको छ। उनले भने, "जस्तोसुकै परिस्थिति आए पनि नियन्त्रण गर्न तयारी अवस्थामा छौँ।"
राजावादीहरू विमानस्थलमा शक्ति प्रदर्शनको तयारीमा
सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं आउँदैछन्। राजावादी समूहहरू विभिन्न स्थानबाट जुलुस निकाल्दै त्रिभुवन विमानस्थल गेटअगाडि भेला हुन लागेका छन्।
यही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकमा भीड नियन्त्रण, सम्भावित हुलहुज्जत रोकथाम, अमर्यादित वा गैरकानुनी गतिविधि हुन नदिन आवश्यक कदम चाल्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।
चारवटै सुरक्षा निकाय तयारी अवस्थामा!
सुरक्षा अधिकारीका अनुसार यदि आवश्यक परे चारवटै सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभाग) परिचालन गरिनेछ। यसै अनुसार, बिहानैदेखि काठमाडौंका प्रमुख चोकहरूमा बर्दीधारी तथा सादा पोशाकका गुप्तचर परिचालित छन्।
राजावादीहरूको प्रदर्शन कत्तिसम्म शान्तिपूर्ण रहने वा स्थिति नियन्त्रण बाहिर जाने भन्नेबारे सुरक्षाकर्मी उच्च सतर्कतामा छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह