समाचार

"‘फर्गिभ बट नट फर्गेट’ – पूर्वराजा ज्ञानेन्द्रप्रति किन तात्यो बालुवाटार

"‘फर्गिभ बट नट फर्गेट’ – पूर्वराजा ज्ञानेन्द्रप्रति किन तात्यो बालुवाटार

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने राप्रपाको निर्णयले राजनीतिक हलचल ल्याएको छ। एक महिनाको पोखरा बसाइपछि उनी काठमाडौं फर्किन लाग्दा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले तीव्र विरोध जनाएका छन्।

रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, शाह वंशको अढाई सय वर्षे शासन, लुटतन्त्र, दमन, र २०४६ सालअघिको अधिनायकवाद सम्झनुपर्ने बताएका छन्। उनले २०६१ माघ १९ पछि ज्ञानेन्द्रले चालेका कदमलाई ‘गोल्डेन डेज’ मानेर समर्थन गर्नु पाखण्ड हो भन्दै आक्रोश पोखेका छन्।

उनले राजसंस्थाको ‘रक्त शुद्धता’ र ‘वंश परम्परा’ को पर्दाफास गर्न आग्रह गर्दै, ज्ञानेन्द्रले दाजुको हत्या हुँदा केही गर्न नसकेको आरोप लगाए। ‘फर्गिभ बट नट फर्गेट’ भन्दै उनले राजसंस्थालाई माफ गरे पनि बिर्सन नसकिने अतीत रहेको बताए।

रिमालले ०६२/६३ को जनआन्दोलनको तस्बिर शेयर गर्दै, पूर्वराजालाई स्वागत गर्ने राप्रपाको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। राजसंस्थाको पुनरागमनको चर्चा चलिरहेका बेला पूर्वराजाको स्वागतले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक सल्लाहकार विष्णु रिमाल