७२ लाख डलरमा बेचिएको अलास्का: पुटिन–ट्रम्प शिखर बैठकले खोलेको रुसी ‘घाउ’

अमेरिकी राज्य अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठकको तयारीले दुई मुलुकबीचको जटिल इतिहासलाई फेरि सतहमा ल्याएको छ। अलास्का सन् १८६७ मा जार अलेक्जान्डर द्वितीयले ७२ लाख डलरमा संयुक्त राज्य अमेरिकालाई बेचेको थियो, तर यो लेनदेनलाई अहिले रुसमा प्रायः ‘कम मूल्यमा भएको ऐतिहासिक गल्ती’को रूपमा स्मरण गरिन्छ।
अठारौँ शताब्दीको अन्त्यतिरदेखि रुसी उपनिवेश रहेको अलास्का त्यतिबेला दुर्गम र आर्थिक दोहन गर्न कठिन मानिन्थ्यो। फर व्यापारका लागि प्रमुख केन्द्र रहेको यो भूभाग पछि सुन र तेलजस्ता प्राकृतिक स्रोतको घर बन्दा, बिक्रीको निर्णयमाथि आलोचना चुलिएको हो। कार्नेगी रुस–युरेसिया केन्द्रका वरिष्ठ फेलो अलेक्जान्डर बाउनोभका अनुसार, अलास्का ‘रुसी महाद्वीपीय विस्तारको शिखर’को प्रतीक थियो, जुन युरोपेली शक्तिहरूसँग तुलनायोग्य रूपमा समुद्रपार विस्तारको एक मात्र सफल उदाहरण थियो।
युक्रेनमाथि सन् २०२२ मा भएको आक्रमणपछि मस्को–वासिङ्टन सम्बन्ध चरम तनावमा पुगेको पृष्ठभूमिमा, अलास्कामा हुने यो शिखर बैठकलाई केही विश्लेषकहरूले शीतयुद्धकालीन ‘डिटेन्ट’ सम्झाउने घटना भनेका छन्। रुसी राजनीतिक विज्ञ फ्योदोर लुक्यानोभका अनुसार, यस बैठकको प्रतीकात्मक महत्त्व नै बाह्य मध्यस्थबिना दुई शक्तिले प्रत्यक्ष संवाद गर्न लागेका हुन्—जहाँ चीन भौगोलिक रूपमा नजिक छैन र युरोप सम्भव भएसम्म टाढा छ।
अलास्काको स्वामित्वबारे रूसभित्र समय–समयमा भावनात्मक बहस उठ्ने गरे पनि, औपचारिक रूपमा भूभाग फिर्ता गर्ने प्रयास देखिएको छैन। २०१४ मा एक नागरिकले अलास्का पुनः प्राप्त गर्ने सम्भावनाबारे सोध्दा, राष्ट्रपति पुटिनले ‘त्यो धेरै चिसो छ’ भन्दै हाँस्यात्मक जवाफ दिएका थिए। तर सन् २०२२ मा, ड्युमाका सभामुख व्याचेस्लाभ भोलोडिनले यसलाई ‘विवादित क्षेत्र’ भनी अभिव्यक्ति दिएपछि विषय फेरि चर्चामा आएको थियो।
रुसी सामाजिक सञ्जालमा अलास्कासम्बन्धी हास्य–व्यङ्ग्य र मिमहरू निरन्तर देखा पर्छन्, जसमा ‘हाम्रो भालुहरूको भूमि’ गुमाएको पीडा उल्लेख हुन्छ। यहाँसम्म कि पुटिनको मनपर्ने भनिने रक ब्यान्ड ल्युबेले पनि आफ्नो गीतमार्फत अमेरिका ‘हाम्रो अलास्का फिर्ता देऊ’ भनी भावनात्मक आग्रह गरेको छ।
ऐतिहासिक सम्झना, भू-राजनीतिक तनाव र भावनात्मक प्रतीकात्मकता-यी सबैको संगम बनेको अलास्कामा हुने यो शिखर बैठक, दुई महाशक्तिका लागि केवल कूटनीतिक संवाद मात्र नभई, विगतका घाउ र आजका चुनौतीबीचको एक संवेदनशील साक्षात्कार बन्ने देखिन्छ।