चिनियाँ सेना नेपाल छिर्यो!
हुम्ला, ११ कात्तिक — हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चा क्षेत्रमा हाल चिनियाँ सुरक्षाकर्मीहरूको गतिविधि र निगरानी तीव्र बनेको पाइएको छ। स्थानीयहरूले नेपाली भूभागमै चिनियाँ पक्षले आवतजावतमा अवरोध गर्न थालेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार सादा पोशाकमा रहेका चिनियाँ सुरक्षाकर्मीहरूले हालसालै लिमी लाप्चा क्षेत्र (लोलुङजोङ) मा माइकिङ गर्दै तीर्थयात्रीहरूलाई अघि बढ्न रोक लगाएका छन्। सिमकोट गाउँपालिका–१ का अविनाश लामाले भने, “हामी आफ्नै नेपाली भूमि भित्र थियौं, तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न रोक लगाए।”
गत असोज ११ गते सिमकोटबाट बोलेरो जीपमा मानसरोवर–कैलाश दर्शनका लागि गएका २०–२२ जना तीर्थयात्रीहरूलाई लिमी लाप्चा नजिकै रोकेको जनाइएको छ। तीर्थयात्री राजु रावतका अनुसार, “हामीलाई लिमी फिर्ता जान भनियो, बल्लतल्ल दुई-दुई जनालाई मात्र दर्शन गर्न अनुमति दिइयो।”
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यो विषयमा गृह प्रशासन र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
सीडीओको प्रतिक्रिया:
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको उपस्थितिको पुष्टि गर्दै भने, “त्यो खुला क्षेत्र हो, परम्परागत रूपमा नेपालीहरू त्यहाँ गएर कैलाश दर्शन गर्ने गर्छन्। अहिले रोक लगाइएपछि विवाद चर्किएको हो।”
उनका अनुसार भारतका आध्यात्मिक गुरु सदगुरु जग्गी वासुदेव हालै सो क्षेत्रमा पुगेपछि चहलपहल बढेको र त्यसले चिनियाँ पक्षलाई सतर्क बनाएको हुनसक्ने बताएका छन्।
रेग्मीले सीमा रेखा स्पष्ट गर्न गृह मन्त्रालयमा जानकारी पठाइसकेको बताए। “पुराना सन्धि–सम्झौता अनुसार सीमारेखा स्पष्ट गर्न जरुरी छ,” उनले भने।
पृष्ठभूमि:
लिमी लाप्चा नेपाल–चीन सीमाको अस्पष्ट भाग हो। यो क्षेत्रबाट मानसरोवर र कैलाश पर्वत स्पष्ट देखिने भएकाले नेपाली तीर्थयात्रीहरूको आकर्षण बन्दै आएको छ। तर पछिल्ला वर्षहरूमा चिनियाँ पक्षले सो भूभागमा निगरानी कडाइ गर्दै दर्शनमा अवरोध गर्न थालेको छ।
नेपाल र चीनबीच सीमा निर्धारण सन्धि सन् १९६१ मा भएको हो, जसअन्तर्गत दुवै देशबीच साना भू–भाग साटासाट गरिएको थियो। तर हुम्लाको लिमी लाप्चा जस्ता केही क्षेत्र अझै विवादित र अस्पष्ट रहेको देखिन्छ।
स्थानीय प्रशासनले अहिले सो क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सञ्चालन गर्न सशस्त्र प्रहरी र चिनियाँ सुरक्षाकर्मीबीच समन्वय भइरहेको जनाएको छ।
तर स्थानीयहरू भने भन्छन् — “नेपालको भूमि भित्रै चिनियाँ सुरक्षाकर्मीको उपस्थिति देखिनु राष्ट्रिय स्वाधीनताको प्रश्न हो।”