सातौँ दराज सेलर सम्मिटमा २२ विक्रेतालाई सम्मान

नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट सम्पन्न गरेको छ। साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको सहभागिता भएको कम्पनीले जनाएको छ।
सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणका लागि सुरु गरिएको सेलर सम्मिटलाई यसपटक दराजले थप परिस्कृत गर्दै व्यापारी अनुभवलाई सहज बनाउन, पहिचानलाई एकीकृत गर्न, संलग्नतालाई गहिरो बनाउन र योगदानलाई व्यापक मान्यता दिने उद्देश्यका साथ अघि बढाएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले विक्रेतामै केन्द्रित प्रतिबद्धतामा कम्पनी दृढ रहेको बताए। उहाँले भन्नुभयो, “दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो। हामी स्थानीय साना तथा मझौला उद्यमलाई लाखौं उपभोक्तासम्म पुर्याउने, आवश्यक डिजिटल उपकरण उपलब्ध गराउने र विक्रेताको विश्वसनीय सहयात्री बन्न निरन्तर प्रयत्नशील छौँ।”
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले विक्रेतासँगको सहकार्यले कम्पनीको वृद्धि मात्र नभई नेपालमा ई–कमर्स उद्योगको विस्तारमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको अनुभव साझा गरे। संध्याकालीन सत्रमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मान गरिएको थियो। कम्पनीका अनुसार, लगनशीलता, नवीनता र ग्राहकलाई प्राथमिकता दिने दृष्टिकोणका कारण उनीहरू सफलताको उदाहरण बनेका छन्।
यस वर्ष विभिन्न शीर्षकमा सम्मानित हुनेमध्ये ‘सेलर अफ द ईयर २०२५’ वान प्लस बनेको छ भने ‘मनबाटै नेपाली अवार्ड’ त्रीकायाले प्राप्त गरेको छ। त्यस्तै ‘टप एसएमई सेलर अवार्ड’ स्मार्ट च्वाइस एनपी, ‘टप ईमर्जिंग सेलर अवार्ड’ ग्लेन नेपाल, ‘मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर’ सुक्शिता घिमिरे, ‘दराज कस्टमर च्वाइस अवार्ड’ ई मेला लगायतले प्राप्त गरेका छन्।
दराजले यो सम्मेलनलाई विक्रेताको उपलब्धिमात्र नभई भविष्यमा हुने सहकार्य र साझा सफलताका लागि नयाँ सुरुवातको अवसरका रूपमा लिएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि विक्रेताको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालमा ई–कमर्सलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
सन् २०१५ मा स्थापना भएको दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा दिँदै आएको छ। ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरूलाई एकीकृत गर्दै, यसले डिजिटल व्यापारलाई द्रुत गतिमा अगाडि बढाउने दाबी गरेको छ।