राजनीति

‘प्रचण्ड’को आह्वान: “सबै माओवादी धाराहरू एउटै झण्डामुनि एकता होस्”

‘प्रचण्ड’को आह्वान: “सबै माओवादी धाराहरू एउटै झण्डामुनि एकता होस्”

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखिएका जटिल राजनीतिक परिस्थिती र राष्ट्रिय स्वाधीनतामाथि परेका चुनौतीको समाधानका लागि वाम एकता र राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले भनेका छन् —

“देशका सामु देखिएका जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ।”

उनले वर्तमान संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहल बाट मात्रै सम्भव हुने उल्लेख गर्दै सबै देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण अनिवार्य भएको बताएका छन्।

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको दिशामा अघि बढ्न माओवादी सहितका वामपन्थी दलहरूले एकता र साझा आन्दोलनबाट अघि बढ्नु अहिलेको आवश्यकता भएको स्पष्ट पारेका छन्।

उनले लेखेका छन् —

“म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।”

त्यसैगरी प्रचण्डले गणतान्त्रिक र लोकतान्त्रिक शक्तिहरूलाई पनि राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि साझा मोर्चामा उभिन आह्वान गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यो वक्तव्य हालको सत्ता समीकरण र वाम एकता पुनर्जीवनको संकेतका रूपमा व्याख्या गर्न सकिनेछ। हाल देशमा उत्पन्न आर्थिक, सामाजिक र राजनीतिक अस्थिरताबीच उनको यस्तो अपिलले आगामी सत्ता समीकरणमा नयाँ बहस निम्त्याउने निश्चित देखिन्छ।

प्रचण्ड