समाचार

नेपाल टेलिकमको चेतावनी: ‘गिफ्ट’ भन्दै पठाइएका लिङ्कमा क्लिक गर्दा ठगिन्छन् ग्राहक!

नेपाल टेलिकमको चेतावनी: ‘गिफ्ट’ भन्दै पठाइएका लिङ्कमा क्लिक गर्दा ठगिन्छन् ग्राहक!

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विभिन्न सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ। कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा अज्ञात स्रोतबाट पठाइएका शंकास्पद लिङ्कहरू खोलेर व्यक्तिगत विवरण दिन लगाइने र त्यसको आधारमा ठगी गरिने घटना देखिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “हालै केही ग्राहकलाई विभिन्न अनधिकृत स्रोतमार्फत ‘गिफ्ट’ तथा ‘रिवार्ड’ प्राप्त भएको सूचना दिई लिङ्क खोल्न लगाइएको र त्यसपछि आवश्यक विवरण मागेर आर्थिक ठगी गरिएका घटनाहरू फेला परेका छन्।” कम्पनीले यसलाई साइबर अपराधको सक्रिय रूप भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

यस्ता लिङ्कहरू प्रायः अपरिचित वेबसाइटमार्फत पठाइने भएकाले प्रयोगकर्ताले नखोल्नुपर्ने चेतावनी दिइएको छ। कम्पनीले उदाहरणस्वरूप केही शंकास्पद युआरएलहरू सार्वजनिक गर्दै तीमार्फत सेवा वा पुरस्कार दिने दाबी पूर्णतया असत्य भएको स्पष्ट पारेको छ।

नेपाल टेलिकमका अनुसार आधिकारिक सूचना भने कम्पनीको ब्लु-टिक प्रमाणित सामाजिक सञ्जाल खाताहरू (फेसबुक र एक्स) तथा आधिकारिक वेबसाइटमार्फत मात्र प्रकाशन हुने भएकाले सेवाग्राहीले यिनै स्रोतलाई भरपर्दो आधार बनाउनुपर्नेमा जोड दिइएको छ।

कम्पनीले सेवाग्राहीलाई अनधिकृत लिङ्क खोल्दा व्यक्तिगत तथा आर्थिक विवरण चुहिने मात्र नभई ठगीमा फस्ने सम्भावना उच्च हुने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी सेवाग्राहीलाई सुरक्षित तथा भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्न कटिबद्ध छौँ। त्यसका लागि ग्राहक आफैं पनि सजग हुनु आवश्यक छ।”

यसअघि पनि नेपालमा सामाजिक सञ्जालमार्फत यस्तै प्रकारका ठगी प्रयासहरू भइरहेका घटना सार्वजनिक भइसकेका छन्। यस्ता घटनाले प्रयोगकर्ताको वित्तीय सुरक्षामात्र नभई सम्पूर्ण डिजिटल वातावरणको विश्वासनीयतालाई प्रश्नमा पार्ने भएकाले विज्ञ विज्ञहरूले उपभोक्ता सतर्कता र कम्पनी–सरकारी निकायबीच सहकार्य बढाउनुपर्ने सुझाव दिएका छन्।

नेपाल टेलिकमले ग्राहकलाई आफ्ना आधिकारिक च्यानलमार्फतमात्र सेवा र प्रस्तावहरूको जानकारी लिन पुनः अनुरोध गरेको छ।