समाचार

सगरमाथा संरक्षणमा नेपाल लाइफको योगदान: पहिलो चरणमै ५ हजार किलो फोहोर संकलन

सगरमाथा संरक्षणमा नेपाल लाइफको योगदान: पहिलो चरणमै ५ हजार किलो फोहोर संकलन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथा क्षेत्रमा थुप्रिएको ५,००० किलोग्राम फोहोर संकलन गरेको छ। ‘प्रोजेक्ट केयर’ शीर्षकमा गरिएको यो अभियान अन्तर्गत संकलित फोहोरबारेको प्रतिवेदन राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले एक औपचारिक समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरे।

कम्पनीले जानकारी दिएअनुसार फोहोर संकलन कार्यमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) प्राविधिक साझेदारको रूपमा संलग्न थियो भने, संकलित फोहोरलाई खालिसीसी नामक संस्थाको सहकार्यमा पुनःप्रयोग (रिसाइकलिङ) गर्ने योजना बनाइएको छ। कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पूर्वअध्यक्ष नितेश कुमार अग्रवाल, एसपिसिसीका प्रतिनिधि तथा वातावरण संरक्षणसँग सम्बन्धित सरोकारवाला संस्थाहरूका सदस्यहरूको उपस्थिति थियो।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपालको मात्र नभई विश्वकै सम्पदा भएको भन्दै यसको संरक्षणका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। उहाँले भने, “पहिलो चरणमा ५,००० किलोग्राम फोहोर संकलन गर्न सकिएकोमा सबै सरोकारवालालाई धन्यवाद व्यक्त गर्छु। आगामी दिनमा पनि सगरमाथाको सौन्दर्य जोगाउन नेपाल लाइफ सधैं प्रतिबद्ध रहनेछ।”

राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यसपटक संकलित ५,००० किलोग्राम फोहोरलाई आधार शिविरभन्दा तल पु¥याइएको र नकुहिने फोहोरलाई ३० किलोको झोलामा काठमाडौं ल्याइएको जानकारी दिए। उहाँले २५,००० किलोग्रामसम्म फोहोर व्यवस्थापन गर्ने दीर्घकालीन योजना बनाइएको पनि बताए। अग्रवालका अनुसार आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र भएकाले प्रभावकारी सफाइ कार्य अझै चुनौतीपूर्ण बनेको छ।

सगरमाथामा विगत लामो समयदेखि त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य प्याकेजिङ, पर्वतारोहण उपकरण र मानव फोहोरले वातावरणीय संकट निम्त्याउँदै आएको छ। यसरी संकलित फोहोरलाई व्यवस्थित रुपमा पुनःप्रयोग गर्न सकिने बताइए पनि, दीर्घकालीन रुपमा प्रभावकारी नीतिगत संलग्नता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य देखिन्छ।

सफाइ अभियानले अल्पकालीन प्रभाव देखाए पनि हिमालको पहिचान र विश्व सम्पदाको रूपमा रहेको यसको महत्व जोगाइराख्न निरन्तर प्रयास आवश्यक रहने सरोकारवालाहरूको धारणा छ।