नेपाल भ्रमणमा भियतनामकी उपराष्ट्रपति, उच्चस्तरीय भेटघाटसँगै सम्बन्ध विस्तारमा जोड

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने ऐतिहासिक अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शुक्रबार काठमाडौं आएकी सुआनले आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी हुन्।
भेटवार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि उपराष्ट्रपति सुआनले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गरेकी थिइन्। त्यस्तै, शनिबार नै उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि छलफल गरेकी थिइन्।
नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुबै देशले संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चमा सहयोग र सहकार्यलाई निरन्तरता दिँदै आएका छन्। भियतनामबाट नेपालमा उच्चस्तरीय भ्रमण दुर्लभ हुने गरेको पृष्ठभूमिमा यो भ्रमणलाई कूटनीतिक सम्बन्धलाई नजिक्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
उपराष्ट्रपति सुआन सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा भइरहेको यो भ्रमणले दुबै देशबीच विगत पाँच दशकयात्राले दिएको सन्देशलाई भावी साझेदारीमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।