नाडा अटो शो २०२५ सम्पन्न, १ लाख ७६ हजार बढी अवलोकनकर्ता

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२५ शनिबार सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यो संस्करणलाई विगतका वर्षभन्दा भव्य र व्यवस्थित रहेको दाबी गरेको छ।
१७औँ संस्करणको अटो शो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। आयोजकका अनुसार छ दिनसम्म चलेको प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ जना अवलोकनकर्ताले सहभागिता जनाएका थिए। स्टल सजावट, नयाँ मोडलका सवारी साधन र विद्युतिय गाडीहरूको प्रदर्शनका कारण यो संस्करणले दर्शकहरूको उल्लेख्य आकर्षण पाएको नाडाले जनाएको छ।
आयोजक संघका अध्यक्ष करण चौधरीले प्रदर्शनीले अटोमोबाइल क्षेत्रलाई मात्र नभई समग्र अर्थतन्त्रलाई गतिशील बनाउन सघाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “अटोमोबाइल बजार केही समययता सुस्त भए पनि यस्ता प्रदर्शनीहरूले बजारलाई पुनः चलायमान बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।”
अटो शोका क्रममा हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। यस अन्तर्गत ‘इण्टरनेशनल अटो ट्रेड डायलग’, ‘ड्राइभिङ द फ्युचरः ईभी एडप्सन इन नेपाल’, ‘कर्जा नीतिमा स्थिरता र अटोमोबाइल बजारको दीर्घकालीन निकास’, ‘फलाइङ कार टेक्नोलोजी’ र ‘युथ मोबिलिटी एण्ड नेशनल ड्रीम’ लगायतका विषयमा विज्ञ र नीतिनिर्माताबीच छलफल भएको थियो।
समापनकै दिन बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसमेत सार्वजनिक गरेको छ। नाडाका अनुसार भदौ २४ गते विशेष साधारणसभा आह्वान गरी यसबारे औपचारिक निर्णय हुनेछ।
यसपटकका उत्कृष्ट स्टल पुरस्कारमा चारपाङ्ग्रे श्रेणीमा दिपाल एमएडब्लु अटो कर्प, दुईपाङ्ग्रे श्रेणीमा रोयल इनफिल्ड (अल्फा अटोमोटिभ), लाइट कमर्सियल भेहिकलतर्फ अद्धेत इभी र बैंकिङ–इन्स्योरेन्स श्रेणीमा ग्लोबल आईएमई बैंक छनोट भएका छन्।
छ दिनसम्मको प्रदर्शनीमा प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ सरकारी अधिकारी, दलका नेताहरू, व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा कलाकारले अवलोकन गरेका थिए। अन्तर्राष्ट्रिय तर्फबाट भारतका अटोमोबाइल संघका प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएको थियो।
नाडाले प्रदर्शनीमा सहकार्य गर्ने सरकारी निकाय, प्रायोजक कम्पनी र सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ। अटो शोमा ट्राफिक व्यवस्थापन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको थियो भने फायर सेफ्टी हिट्को प्रा.लिले जिम्मा लिएको थियो।