समाचार

वार्षिकोत्सवमा सहिद परिवारलाई सम्मान, पूर्वकर्मीलाई सतर्क रहन आग्रह

वार्षिकोत्सवमा सहिद परिवारलाई सम्मान, पूर्वकर्मीलाई सतर्क रहन आग्रह

सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सहिद परिवार र पूर्व कर्मचारीसँग भेटघाट गर्दै संगठन उनीहरूको सुखदुःखमा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइजीपी अर्यालले चितवन, कपिलवस्तु तथा मकवानपुरमा आयोजित कार्यक्रमका क्रममा सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै, राष्ट्र र जनताको सुरक्षार्थ जीवन अर्पण गर्ने वीरताको स्मरण संगठनले कहिल्यै नबिर्सने स्पष्ट गर्नुभयो।

नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आठौँ वार्षिकोत्सवमा बोल्दै उहाँले, “सहिद परिवारले दुःखी होइन, वीर सपूत जन्माएकोमा गर्व गर्नुपर्छ। अप्ठ्यारो अवस्थामा पनि नजिकको व्यारेकबाट सहयोग पुग्ने व्यवस्था मिलाइन्छ,” भन्नुभयो। उहाँले संगठनको नीतिअनुसार सहिद परिवारको वार्षिकीमा स्थानीय युनिट कमाण्डर वा प्रतिनिधिको अनिवार्य उपस्थितिलाई सुनिश्चित गर्न निर्देशन दिनुभएको छ।

सो अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनि कुमार पोखरेलले सहिद परिवारसँग वार्षिकोत्सव, वडाभोज जस्ता कार्यक्रममा सँगै सहभागी हुने प्रथाले उनीहरूको समस्या बुझ्न र समाधान गर्न मद्दत पुगेको जानकारी दिनुभयो। साथै, वीरगति प्राप्त स्थानमा चौतारा, पाटी, प्रतिक्षालय, धारा जस्ता संरचना निर्माणमा सहयोग गर्ने विषयमा पनि आइजीपी अर्यालले निर्देशन दिनुभएको छ।

भेटमा सहिद परिवारले संगठनले आफ्नो सुखदुःखमा साथ दिइरहेको अनुभव भइरहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए। “हाम्रो सन्तानले देश र संगठनका लागि रगत बगाएका हुन्। तपाईंहरू सबै हाम्रा सन्तान सरह हुनुहुन्छ,” सहिद परिवारको भनाइ थियो।

यसै क्रममा, आइजीपी अर्यालले कपिलवस्तु जिल्लामा पनि अमर सशस्त्र प्रहरी परिवारसँग भेटघाट गर्नुभयो। नं ५ विध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सवमा उहाँले सहिद परिवारलाई उच्च सम्मान व्यक्त गर्दै, “देश र जनताको लागि जीवन अर्पण गर्ने परिवार हुनुहुन्छ, यसमा हाम्रो गहिरो आदर छ,” भन्नुभयो।

कार्यक्रमका क्रममा उहाँले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई अधिकार प्रयोग गर्दा फौजी संस्कार नबिर्सन आग्रह गर्नुभयो। साथै, विपद् व्यवस्थापनदेखि समाजमा देखिने नराम्रा गतिविधि निरुत्साहित गर्नसम्मका काममा उनीहरूले अझै योगदान दिन सक्ने भएकाले सक्रिय रहन सुझाव दिनुभयो। छलफलमा सहभागी पूर्वकर्मीहरूले पनि सेवा गर्ने बाटो परिवर्तन भए पनि सामाजिक कार्यमा सक्रिय रहेको बताएका थिए।

सशस्त्र प्रहरी बलले सहिद परिवार र पूर्वकर्मीलाई संगठनसँगको सम्बन्ध निरन्तरता दिने प्रतिबद्धता यिनै भेटघाटमार्फत स्पष्ट पारेको देखिन्छ।