समाचार

राष्ट्रपति पौडेल–उपराष्ट्रपति सुआन भेट

राष्ट्रपति पौडेल–उपराष्ट्रपति सुआन भेट

राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनबीच आइतबार काठमाडौंको शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–भियतनाम सम्बन्धलाई आर्थिक, सांस्कृतिक र राजनयिक क्षेत्रमा थप सुदृढ गर्ने विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणमा सहयोग गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकार त्यसलाई व्यवहारमा उतार्न इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल हाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत् क्षेत्रमा लगानीमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा केन्द्रित रहेको प्रष्ट पार्नुभयो। भियतनामले छोटो अवधिमा आफ्नो अर्थतन्त्रलाई गतिशील रूपले अगाडि बढाएकोमा राष्ट्रपति पौडेलले प्रशंसा गर्दै यस अनुभव नेपालका लागि उपयोगी हुन सक्ने धारणा राख्नुभयो।

भेटमा उहाँले बौद्ध धर्म दुवै मुलुकका जनताबीचको गहिरो सम्बन्धका लागि प्रमुख आधार भएको स्मरण गर्दै लुम्बिनीलाई भियतनामी नागरिकले पवित्र स्थलका रूपमा प्राथमिकता दिने प्रवृत्ति उत्साहजनक रहेको टिप्पणी गर्नुभयो।

भियतनामकी उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको र भियतनामले सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने रणनीति तय गरेको प्रसंगमा दुई देशबीच अझै अघि नै व्यापक सहयोगको ढाँचा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विशेषतः संस्कृति, खेलकुद र पर्यटन क्षेत्रमा साझेदारी बढाउनुपर्नेमा जोड दिनुभयो।

सुआनले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति प्रवर्द्धनमा देखाएको अग्रसरता र जलवायु परिवर्तनसँग जुझ्ने प्रतिबद्धता प्रभावकारी रहेको भन्दै प्रशंसा गर्नुभयो।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक पार गरेको पृष्ठभूमिमा भएको यो उच्चस्तरीय भेटवार्ताले दुवै मुलुकबीच भविष्यमा थप ठोस सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ।