समाचार

१०औँ प्रि–आर्टिकलसिप अभिमुखीकरण सम्पन्न: भविष्यका चार्टर्ड एकाउन्टेन्टलाई संस्थाको विशेष सन्देश

१०औँ प्रि–आर्टिकलसिप अभिमुखीकरण सम्पन्न: भविष्यका चार्टर्ड एकाउन्टेन्टलाई संस्थाको विशेष सन्देश

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आइतबार काठमाडौंमा १०औँ प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अनुसार, यस कार्यक्रमको उद्देश्य हालै सम्पन्न सीए परीक्षा (क्याप–२) उत्तीर्ण गरेका विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षणसम्बन्धी प्रक्रिया र आगामी क्याप–३ तहमा दर्ता गर्ने आवश्यक औपचारिकताबारे जानकारी दिनु रहेको थियो।

कार्यक्रमको सुरुवातमा संस्थाका कार्यकारी निर्देशक सीए विमल डंगोलले सहभागीलाई स्वागत गर्दै परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका थिए। संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले यस यात्रालाई नयाँ सुरुवातका रूपमा लिन आग्रह गर्दै संस्थाको सदस्य बनेपछि प्राप्त हुने अवसरबारे जानकारी दिएका थिए।

उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले पञ्जीकृत प्रशिक्षण अवधिमा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता, प्रशिक्षक र प्रशिक्षार्थीबीचको भूमिकासम्बन्धी अपेक्षा, तथा लेखापरीक्षण फर्मको कार्यक्षेत्र र व्यावसायिक वातावरणबारे विस्तृत प्रस्तुतीकरण दिए। शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौता र प्रक्रियागत आधारबारे प्राविधिक जानकारी प्रस्तुत गरे।

यसैगरी प्रशिक्षक राजन कोइरालाले व्यावसायिक शिष्टाचार, सञ्चारको तरिका र लेखापरीक्षण फर्ममा अपेक्षित आचरणबारे सत्र सञ्चालन गरे। कार्यक्रममा सूचना प्रविधिको बदलिँदो प्रभाव र लेखा क्षेत्रमा आउँदै गरेको आउटसोर्सिङ अवसरबारे सदस्य सीए राजु गजुरेलले प्राविधिक प्रस्तुतीकरण गरे। उनले लेखा अभ्यासलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका अन्त्यमा बोर्ड अफ स्टडिजका सदस्य सीए उमेशराज पाण्डेयले धन्यवाद ज्ञापन गर्दै लेखा व्यवसायमा दक्षता बढाउन संवाद सीप र आर्टिकलसिप प्रशिक्षणको महत्त्वमा जोड दिए।

सोही अवसरमा संस्थाले आयोजना गरेको ‘आइक्यान निबन्ध प्रतियोगिता’ का विजेता तथा उपविजेतालाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

संस्थाले जनाएको छ, अभिमुखीकरणमार्फत विद्यार्थीलाई न केवल प्रशिक्षण सम्बन्धी मार्गदर्शन दिइएको हो, तर व्यावसायिक संस्कार, जिम्मेवारी र अवसरबारे स्पष्ट दृष्टिकोण पनि प्रदान गरिएको छ। यसले आगामी चरणमा प्रवेश गर्ने विद्यार्थीलाई लेखा क्षेत्रमा अझ परिपक्व बन्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।