समाचार

यसोदा फुड्सले करेन्ट पोइन्टको तेस्रो शाखा शंखमूलमा सञ्चालनमा ल्यायो

यसोदा फुड्सले करेन्ट पोइन्टको तेस्रो शाखा शंखमूलमा सञ्चालनमा ल्यायो


यसोदा फुड्स प्रालिले करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा विस्तार गरेको छ। बुटवल र काठमाडौंको अनामनगरस्थित शाखाबाट पाएको बजार सफलता र उपभोक्ताको मागलाई आधार मानेर कम्पनीले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ।

नयाँ आउटलेटमा करेन्ट नुडल्ससँगै नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेटजस्ता नयाँ परिकार उपलब्ध हुनेछन्। कम्पनीका अनुसार ग्राहकहरूले मसला र स्वाद आफूअनुकूल रोज्न सक्ने सुविधा पनि पाउनेछन्।

उद्घाटन समारोहमा यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले शंखमूलस्थित शाखा काठमाडौंका उपभोक्ताका लागि नयाँ स्वादको अनुभव दिने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो।”

यस अवसरमा कम्पनीका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स रेन्जका उत्पादनबारे जानकारी दिएका थिए।

सन् २०१७ मा स्थापित यसोदा फुड्स नेपाली खाद्य तथा पेय उद्योगमा सक्रिय कम्पनी हो। ‘करेन्ट’ ब्रान्ड अन्तर्गतका नुडल्स र स्न्याक्स विशेषगरी युवामाझ लोकप्रिय मानिन्छन्। कम्पनीले नेपालभित्र उत्पादन आपूर्ति गर्दै आफ्ना वस्तुहरू विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै आएको छ।

शंखमूलमा नयाँ शाखा सुरु गर्नुले राजधानीमा नुडल्स र स्न्याक्स बजारको प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ, जसले स्थानीय उपभोक्तालाई नयाँ विकल्प उपलब्ध गराउनेछ।