वीरगञ्जमा नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ सुरु, दुवै मुलुकका वरिष्ठ उपस्थित
वीरगञ्ज – नेपाल–भारतबीच सञ्चार सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ आजदेखि वीरगञ्जमा सुरु भएको छ।
मिडिया फर बोर्डर हार्मोनी, नेपालको अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भिष्वा होटलमा भएको उद्घाटन कार्यक्रममा दुवै देशका पत्रकार, सम्पादक, नीतिनिर्माता तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो।
कार्यक्रमका प्रमुख अतिथि सांसद अजय चौरासियाले नेपाल–भारतबीचको सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्धलाई पत्रकारिताले अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले यस्तो प्रकारको कन्क्लेभले दुवै मुलुकबीच विश्वास र आपसी समझदारी बढाउन योगदान दिने विश्वास व्यक्त गरे।
विशेष अतिथिहरूमध्ये राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झा, पूर्वराजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदिश शर्मा र नेपाल पत्रकार महासंघका महासचिव अशोक तिवारीलगायत सहभागी थिए।
आयोजकका अनुसार नेपाल–भारतका करिब ८० भन्दा बढी पत्रकार तथा सञ्चार क्षेत्रका विज्ञहरूको सहभागितामा सुरु भएको यो कन्क्लेभले नेपाल–भारत मिडिया नेटवर्क स्थापना गर्ने बाटो खोल्ने र दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।