सभामुख घिमिरेको तिहार सन्देशः सहकार्य र सुशासनबाटै मुलुकको निकास सम्भव!

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकले राजनीतिक र सामाजिक अन्यौलता पार गर्न सबै पक्षको साझा सहकार्य अनिवार्य भएको बताएका छन्। तिहारको अवसरमा बिहीबार जारी शुभकामना सन्देशमार्फत उनले हालको अस्थिर अवस्था शान्ति र सहअस्तित्वका माध्यमबाट मात्र स्थायित्वमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।
उनका अनुसार युवा पुस्ताको विद्रोहले शासनप्रणाली र राजनीतिप्रति व्यापक असन्तोष उजागर गरेको छ, जसले सुशासन र पारदर्शिताको मागलाई अब टार्न नसकिने स्तरमा पुर्याएको छ। “युवा पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका माग सबै नेपालीको साझा प्रतिबद्धता र सहकार्यबिना पूरा हुन सक्दैन,” घिमिरेको सन्देशमा उल्लेख छ।
सभामुखले देशभित्रका राजनीतिक दल, नागरिक समाज, सरकारी संयन्त्र र आम नागरिकबीच विश्वास र सहकार्यको पुल निर्माण नगरी दीर्घकालीन समाधान सम्भव नहुने बताए। उहाँका अनुसार राजनीतिक प्रतिस्पर्धा र आस्थाको फरकले होइन, साझा उद्देश्य र जवाफदेहिताले देशको दिशा निर्धारण गर्नुपर्छ।
दीपावलीको सन्दर्भमा उनले परम्परागत रूपमा घर–घरमा दीप प्रज्वलन गरी मनाइने यो पर्वले अन्धकारमाथि उज्यालोको विजयका साथै नेपालीहरूबीच आपसी सद्भाव, भ्रातृत्व र मेलमिलाप बलियो बनाउने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले शुभकामना सन्देशमा लेखे, “यो उज्यालो पर्वले हामी सबैलाई लोकतन्त्र, संविधान र राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै समुन्नत र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने ऊर्जा प्रदान गरोस्।”
तिहारको रौनकसँगै आएको सभामुखको सन्देशले मुलुकको वर्तमान मनोविज्ञान—निराशा र आशाको संगमलाई—प्रतिबिम्बित गरेको देखिन्छ। राजनीतिक नेतृत्व र नागरिकको साझा जिम्मेवारीबाटै नेपालको उज्यालो भविष्य संभव छ भन्ने सन्देश उनले उज्यालोको पर्वमार्फत स्मरण गराएका छन्।