एससिओ शिखर सम्मेलनमा नेपालको सहभागिता: ओली चीन पुगे
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको थियानजिन पुगेका छन् । उहाँ शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन्।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भएको यो भ्रमणलाई औपचारिक मैत्रीपूर्ण भेटघाटको अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
विमानस्थलमा उहाँलाई चीन सरकारका वरिष्ठ अधिकारीहरूले स्वागत गरे। स्वागत टोलीमा चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत चेन सोङ पनि उपस्थित थिए।
एससिओ शिखर सम्मेलनमा सहभागी हुनुपर्ने औपचारिक कार्यक्रमसँगै यो भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा समेत लिइएको छ। भूराजनीतिक सन्तुलन र क्षेत्रीय सहकार्यको सन्दर्भमा यस्तो उच्चस्तरीय सहभागिता नेपालका लागि कूटनीतिक महत्वको विषय बनेको देखिन्छ।
अहिले ध्यान चीनमा हुने बैठकका एजेन्डामा छ, तर यससँगै नेपालले क्षेत्रीय शक्ति सन्तुलनमा आफ्नो भूमिका कसरी प्रस्तुत गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ।