ट्रम्पको भन्सार प्रहारले भारत-अमेरिका सम्बन्ध बिग्रने खतरा!

अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क बढाउने घोषणा गरेपछि दुई मुलुकबीचको व्यापार सम्बन्धमा नयाँ तनाव देखिएको छ। अमेरिकाले भारतले रुसबाट आयात गर्ने कच्चा तेललाई मुख्य कारण देखाउँदै शुल्क लगाएको हो। यसबारे शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतीय वाणिज्यमन्त्री पियुष गोयलले स्पष्ट गर्दै भने, “भारत सधैं निष्पक्ष र सम्मानजनक व्यापारमा विश्वास गर्छ। तर हामी कहिल्यै झुक्दैनौं, न त कमजोरी देखाउँछौं।”
गोयलले भारत अब अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको खोजी गर्दै निर्यात विस्तारमा केन्द्रित हुने बताए। अमेरिकी कदमलाई भारतले पहिले नै ‘अन्यायपूर्ण र अविवेकी’ भन्दै असहमति जनाएको थियो। यस्तै, कृषि तथा डेरी क्षेत्रको पहुँचबारे भइरहेको दुबै मुलुकबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन। विश्लेषकहरूको भनाइमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना उत्पादनलाई भारतीय बजारमा बढी प्रवेश दिलाउन इच्छुक छन् भने प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय किसानको हित जोगाउन प्राथमिकतामा छन्।
सन् २०२४ मा अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्य बनेको थियो, जहाँबाट ८७ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका वस्तु निर्यात भएका थिए। अहिले थपिएको भन्सार शुल्क विशेषगरी साना उद्योग र निर्यातकर्तामाथि गम्भीर दबाबको रूपमा देखिएको छ। कपडा, गहना र समुद्री उत्पादन निर्यात गर्ने व्यवसायीहरूले पहिले नै अमेरिकी अर्डर रद्द हुन थालेको र त्यसको फाइदा बङ्गलादेश तथा भियतनामजस्ता प्रतिस्पर्धी मुलुकले उठाइरहेको बताएका छन्।
यसबीच, वाणिज्यमन्त्री गोयलले सरकारले निर्यातकर्तालाई सहयोग गर्ने विशेष योजना चाँडै ल्याउने प्रतिबद्धता जनाए। उहाँले भने, “म विश्वस्त छु, चालु वर्षमा भारतको निर्यात अघिल्लो वर्षको तुलनामा अझ बढ्ने छ।” यस्तो अवस्थामा भारत र अमेरिकाबीचको व्यापारिक सम्बन्ध आगामी महिनामा कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।