समाचार

पूर्वी अफगानिस्तानमा प्रलय! एकैदिन बाढीले मानिसदेखि खेतीसम्म सबै बगायो

पूर्वी अफगानिस्तानमा प्रलय! एकैदिन बाढीले मानिसदेखि खेतीसम्म सबै बगायो

अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शुक्रबार परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीले स्थानीय बासिन्दालाई ठूलो क्षति पुर्‍याएको छ। सरकारी समाचार संस्था बख्तरले कम्तीमा पाँच जनाको मृत्यु र आठ जनाको घाइते भएको पुष्टि गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार बाढी मुख्यत: रोटाट, हास्का मिना र चपरहार जिल्लामा केन्द्रित रह्यो। नङ्गरहार प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख मौलवी सदीकुल्लाह कुरैशीले बाढीले हजारौं एकड खेतीयोग्य जमिन बगाएको र सडक तथा सिँचाइ नहरमा गम्भीर क्षति पुर्‍याएको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय बासिन्दा अझै प्रभावित क्षेत्रमै जोखिमपूर्ण अवस्थामै रहेका छन्।

यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। निरन्तर दोहोरिने प्राकृतिक प्रकोपले स्थानीय समुदायलाई पुनःस्थापना गर्न अझै कठिन बनाएको छ। मौसमजन्य विपत्तिको यो श्रृंखलाले अफगानिस्तानको कमजोर पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीलाई फेरि प्रश्नमा ल्याएको देखिन्छ।