समाचार

नाडा अटोमोबाइल्स एशोसिएशनले महासंघमा रूपान्तरण गर्ने निर्णय, भाद्र २४ मा विशेष साधारण सभा

नाडा अटोमोबाइल्स एशोसिएशनले महासंघमा रूपान्तरण गर्ने निर्णय, भाद्र २४ मा विशेष साधारण सभा

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले डेढ दशक लामो प्रतीक्षापछि संस्थालाई महासंघमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यसै सन्दर्भमा नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ। सभा आगामी भाद्र २४ गते, मङ्गलबार बिहान ११ बजे ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा आयोजना हुने जनाइएको छ।

नाडाले जारी गरेको जानकारी अनुसार, यो निर्णय संस्थागत संरचना विस्तार गर्ने बहसलाई औपचारिक मोड दिनका लागि गरिएको हो। कार्यसमितिको बैठकले यसलाई “ऐतिहासिक निर्णय”को रूपमा व्याख्या गर्दै सदस्यहरूको लामो समयदेखिको माग पूरा गर्न विशेष साधारण सभा बोलाइएको उल्लेख गरेको छ।

नाडाका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, “स्वयम् सदस्यज्यूहरूको लामो समयदेखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको हो।” संघलाई महासंघमा लैजाने प्रक्रियामा सदस्यहरूको निर्णायक भूमिका रहने भएकाले सक्रिय सहभागिताको आग्रह पनि गरिएको छ।

नाडा अटोमोवाइल्स एशोसिएशन विगत लामो समयदेखि अटोमोबाइल्स क्षेत्रका व्यवसायीहरूको साझा संस्थाका रूपमा क्रियाशील रहँदै आएको छ। महासंघमा रूपान्तरण हुने प्रक्रिया सफल भएमा यसले नाडालाई अझ व्यापक प्रतिनिधित्वसहितको राष्ट्रिय स्तरको निकायमा परिणत गर्ने अपेक्षा गरिएको छ।

यस प्रकार, आगामी विशेष साधारण सभा केवल औपचारिकतामात्र नभई नाडाको भविष्य संरचनात्मक दिशाबारे सदस्यहरूले गर्ने निर्णायक बहसको अवसरका रूपमा पनि हेरिएको छ।