खुर्कोटको बेलीब्रिज मर्मत सुरु,नेपाली सेनाको प्राविधिक टोली सक्रिय

रामेछाप र सिन्धुली जोड्ने सुनकोशीमाथिको बेलीब्रिजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ। गत कात्तिकमा बाढीले बगाएको स्थायी पुलको ठाउँमा अस्थायी रूपमा राखिएको बेलीब्रिजमा नटबोल्टहरू खुकुलो भइ जोखिम बढेपछि सेनाको प्राविधिक टोली मर्मतका लागि खटिएको हो।
महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको इञ्जिनियरिङ टोलीले बिहीबारदेखि मर्मत कार्य थालेको हो। गत असोज १२ गते आएको बाढीले खुर्कोटतर्फको झन्डै ५० मिटरको पुल बगाएपछि वैकल्पिक रूपमा सडक विभाग, विद्युत् प्राधिकरण र नेपाली सेनाको सहकार्यमा बेलीब्रिज जडान गरिएको थियो।
बेलीब्रिजमार्फत् अत्यधिक तौलका सवारी साधन सञ्चालन भइरहेकाले पुलमा कंपन र लचकपन देखिएको छ। यद्यपि, यस पुलबाट अधिकतम १५ टन तौलमात्रका सवारी चल्न मिल्ने भनिए पनि त्यसभन्दा भारी सवारीसमेत सञ्चालन भइरहेको पाइएको छ।
नटबोल्टहरू खुस्किएर पाताहरू खुकुलो हुन थालेपछि मर्मत अपरिहार्य बनेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार दुई दिनभित्र मर्मत कार्य पूरा गरिनेछ।