जर्मनीको सर्वोच्च अदालत प्रमुख बन्ने आकांक्षी प्राज्ञले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन सरकार हल्लिएको

जर्मनीको संवैधानिक अदालतको प्रमुख बन्ने सम्भावित उम्मेदवार फ्राउके ब्रोसियस–गेर्सडोर्फले आफ्नो उम्मेदवारी फिर्ता लिँदै घोषणा गरेकी छन् । उहाँको नाममा उठेको विवादले सत्तारुढ गठबन्धनमा ठूलो खल्बली ल्याएको छ ।
संवैधानिक अदालतका लागि १६ सदस्यीय समितिमा नियुक्तिका लागि मध्य-वामपन्थी सोसल डेमोक्र्याट पार्टी (SPD) ले ब्रोसियस–गेर्सडोर्फको नाम अघि सारेको थियो । तर चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको कन्जरभेटिभ सीडीयू/सीएसयू गठबन्धनभित्रैबाट उहाँको आलोचना चुलिएको थियो ।
उदारवादीहरुका अनुसार, उहाँले गर्भपतन र इस्लामिक हिजाब जस्ता सामाजिक मुद्दामा लिएको 'उदारवादी अडान' लाई लिएर दक्षिणपन्थी सांसदहरू आक्रोशित थिए । ती सांसदहरूले उहाँको अडानलाई ‘अत्यधिक प्रगतिशील’ भन्दै अस्वीकार गरेका थिए ।
उहाँले हालै एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, "सिडीयू/सीएसयू समूहका सदस्यहरूले सार्वजनिक र व्यक्तिगत रूपमा मलाई समर्थन गर्न नसक्ने बताएका छन् ।" त्यस्तै, गठबन्धनभित्रको कलह लोकतन्त्रमा अकल्पनीय नतिजा निम्त्याउन सक्ने भन्दै उहाँले विवादलाई थप नबढोस् भनेर उम्मेदवारी फिर्ता लिएको स्पष्ट पार्नुभयो ।
ब्रोसियस–गेर्सडोर्फले यति पनि भन्नुभयो: "मेरो उम्मेदवारीले अरू दुई न्यायिक उम्मेदवारको अनुमोदन प्रक्रियालाई असर पार्न सक्छ, त्यसैले म उनीहरूलाई जोगाउन चाहन्छु ।"
SPD का महासचिव टिम क्लुसेन्डोर्फले सीडीयू–सीएसयू गठबन्धनमाथि आरोप लगाउँदै भने, "यो हाम्रो राजनीतिक संस्कृतिका लागि नराम्रो दिन हो ।" उहाँले गठबन्धन सहमति विपरीत यस्तो विवाद सिर्जना भएको बताउँदै, ब्रोसियस–गेर्सडोर्फ जस्तो कानुनी विज्ञले उम्मेदवारी फिर्ता लिनु अत्यन्त चिन्ताजनक भएको उल्लेख गर्नुभयो ।
मे महिनामा गठबन्धन सरकार बनेको थियो, र त्यसयता अदालतका रिक्त स्थानहरू भर्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको थियो ।
ब्रोसियस–गेर्सडोर्फको नाम गत महिना संसदको कार्यतालिकाबाट अचानक हटाइएको थियो, जसले गर्दा विवाद अझै चर्किएको थियो ।
फ्राउके ब्रोसियस–गेर्सडोर्फको उम्मेदवारी फिर्ताले जर्मनीको गठबन्धन सरकारभित्र गम्भीर असहमति उजागर गरेको छ । कानुनी विषयमा राजनीतिक ध्रुवीकरण, महिला नेतृत्वको विरुद्धको पूर्वाग्रह, र गठबन्धनमै बढ्दो अविश्वास — यी सबैले जर्मन राजनीतिक सन्तुलनमा गहिरो असर पारेको देखिन्छ ।