समाचार

म्याग्दीको बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध, यात्रुहरु अलपत्र

म्याग्दीको बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध, यात्रुहरु अलपत्र

 बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा मुक्तिनाथ र दामोदरकुण्ड जाने यात्रुहरुलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलका अनुसार, रघुगङ्गा गाउँपालिका–३ बैसरीमा झरेको ठूलो पहिरोले करिब ५० मिटर सडक अवरुद्ध भएको छ। त्यस्तै अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा समेत पहिरोले सडक बन्द भएको छ।

सडक खुलाउने प्रयास भइरहे पनि लगातार वर्षाका कारण काम गर्न कठिन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो। दानका पर्यटन व्यवसायीसमेत रहनुभएका शेरचनले भने, “पानी परिरहेको बेला कहिले पनि सडक अवरुद्ध हुन सक्छ, त्यसैले यात्रा गर्नु अघि अवस्था बुझेर मात्र हिँड्नु उपयुक्त हुन्छ।”

यस्तै, बेनी–दरवाङ सडकखण्डमा पर्ने धुमाउने भीर (बेनी नगरपालिका–४) र बाङ्गे पहिरो (मालिका गाउँपालिका–६) लाई प्रहरीले अति जोखिम क्षेत्र घोषणा गरेको छ। यी स्थानहरूमा पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ।