समाचार

राष्ट्रिय गौरवका आयोजना ढिलो हुनु सांसदको चिन्ता!

राष्ट्रिय गौरवका आयोजना ढिलो हुनु सांसदको चिन्ता!

 राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सांसदहरूले सिंचाइ र पूर्वाधार निर्माणमा ढिलाइ हुँदा सुक्खा क्षेत्रका नागरिकहरू समस्यामा परिरहेको भन्दै गम्भीर चासो व्यक्त गरे ।

विशेष समयमा बोल्दै सांसद युवराज शर्माले सरकारलाई राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको म्यादभित्रै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । उहाँले विशेष गरी मधेश क्षेत्र दिनप्रतिदिन सुक्खाग्रस्त बन्दै गइरहेको सन्दर्भमा चुरे क्षेत्रबाट ढुङ्गा र गिट्टीको निकासी तुरुन्त रोक्नुपर्नेमा जोड दिनुभयो ।

शर्माले कानुनी शासनको प्रत्याभूति दिलाउन र सरकारी खर्च कटौतीसम्बन्धी प्रस्तावलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने धारणा राख्नुभयो । यसैबीच सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको बाढीमा परी २२ जना नेपाली नागरिक सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

उहाँले उत्तरकाशीको धराली गाउँमा साउन २० गते आएको बाढीले जाजरकोट, बर्दिया र धादिङका नागरिकहरू प्रभावित भएको भन्दै ती नागरिकहरूको खोजी तथा उद्धारमा सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

सांसद शर्माले निर्वाचन आयोगले अघि सारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति जनाउँदै सो मूल्याङ्कन जनताले निर्वाचनमार्फत गर्ने अधिकारको हनन भएको तर्क गर्नुभयो । उहाँले निजामती सेवा विधेयकलाई शीघ्र अघि बढाउन पनि माग गर्नुभयो ।

सांसद मोहम्मद खालिदले पनि उत्तराखण्ड बाढीमा परेर बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।