समाचार

राष्ट्रियसभाबाट ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित

राष्ट्रियसभाबाट ‘जलस्रोत विधेयक, २०८१’ सर्वसम्मतिले पारित

राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सर्वसम्मतिले पारित गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो।

सो विधेयकमा प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरिएको थियो।

छलफलमा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न पक्षमा आफ्ना धारणा राख्नुभएको थियो।

सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा मन्त्री खड्काले यो विधेयक जलस्रोतको उचित उपयोग र व्यवस्थापनका लागि प्रस्तुत गरिएको स्पष्ट गर्नुभयो।

उहाँले संविधानमै समावेशी व्यवस्थाको प्रावधान भएकाले विधेयकमा दलितलगायत विषयहरू उल्लेख नगरेको जानकारी दिनुभयो।

बाँधको सुरक्षासम्बन्धी प्रावधानलाई विधेयकमा थप प्रस्ट गरिएको पनि उहाँको भनाइ थियो।

यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन भएका प्रतिनिधिसभाका पूर्व सदस्य खगराज शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक साउन २७ गते, मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ।