समाचार विदेश

अर्मेनिया-अजरबैजान शान्ति सम्झौताका लागि ट्रम्पको पहल

अर्मेनिया-अजरबैजान शान्ति सम्झौताका लागि ट्रम्पको पहल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्मेनिया र अजरबैजानबीचको दशकों लामो दुश्मनी अन्त्य गर्ने कूटनीतिक प्रयासस्वरूप दुबै देशका नेताहरूलाई शुक्रबार ह्वाइट हाउसमा स्वागत गर्न लाग्नुभएको छ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ ‘शान्ति सम्झौता हस्ताक्षर समारोह’मा सहभागी हुने पक्का भएको अमेरिकी प्रशासनले जनाएको छ।

यो पहल ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको एक दिनपछि सार्वजनिक गरिएको हो। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पको कूटनीतिक प्रयासको प्रशंसा गर्दै नोबेल पुरस्कारका लागि नाम सिफारिस गरेका थिए।

पूर्व सोभियत गणतन्त्र अर्मेनिया र अजरबैजानबीचको विवादित नागोर्नो–काराबाख क्षेत्रका कारण सन् २०२० र २०२३ मा दुई युद्ध भइसकेका छन्। पछिल्लो सन् २०२३ को युद्धमा अजरबैजानले काराबाख क्षेत्र पुनः नियन्त्रणमा लिएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “यी दुई राष्ट्रबीचको युद्धले हजारौँ मानिसको ज्यान लिएको छ। धेरै नेताहरूले युद्ध अन्त्य गर्न प्रयास गरे, तर अहिलेसम्म कसैले सफलता पाएन। यी दुई साहसी नेताहरूले सही कदम चालेका छन्, जुन ऐतिहासिक हुनेछ।”

शान्ति सम्झौतासँगै द्विपक्षीय आर्थिक सहकार्यलाई पनि अघि बढाउने घोषणा गरिएको छ। बिहीबार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति अलियेभको उपस्थितिमा वाशिङ्टनमा अमेरिकी तेल कम्पनी एक्सोनमोबिल र अजरबैजानको सरकारी ऊर्जा कम्पनी सोकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मार्चमा दुबै देश विस्तृत शान्ति सम्झौताको मस्यौदामा सहमत भएका थिए, तर अजरबैजानले अन्तिम हस्ताक्षर गर्नु अघि अर्मेनियाले आफ्नो संविधानबाट काराबाख सम्बन्धी क्षेत्रीय दाबी हटाउनुपर्ने शर्त राखेको थियो। ती सर्तहरू पुरा भए–नभएको अझै स्पष्ट भइसकेको छैन।

यसअघि पनि दुबै नेताबीच युएई र अल्बानियामा वार्ता भइसकेको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले दुबै पक्षलाई शीघ्र सम्झौता गर्न आग्रह गरेका थिए।

रूस, अमेरिका, युरोपेली सङ्घ र टर्कीजस्ता शक्तिहरू उक्त क्षेत्रमा प्रभाव जमाउन प्रयत्नशील रहेको अवस्थामा यो सम्झौता निकै रणनीतिक उपलब्धि मानिनेछ।