समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता खड्गबहादुर बस्यालको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता खड्गबहादुर बस्यालको निधन

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य खड्गबहादुर बस्यालको शुक्रबार निधन भएको छ। उहाँ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा ७७ वर्षको उमेरमा क्यान्सरका कारण दिवंगत हुनु भएको हो।

स्वर्गीय बस्याल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल दलित संघका पूर्व अध्यक्ष, २०६४ र २०७० का संविधानसभा सदस्य, नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमितिका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो।

वि.सं. २००८ माघ १५ गते जन्मनु भएका बस्यालले नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूमा समेत सक्रिय रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गर्नुभएको छ।

देउवाले भनेका छन्, “पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभा सदस्य खड्गबहादुर बस्यालको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ। उहाँले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको योगदान सदा स्मरणीय रहनेछ।”

सभापति देउवाले बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्नुभएको छ भने शोकसन्तप्त परिवारप्रति पार्टी र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ।