समाचार

कैलाली कारागारमा रक्तपातः डेढ सय क्षमतामा सात सय कैदी, झडपमा एकको मृत्यु, चार निकायका प्रमुखलाई पनि प्रवेश निषेध

कैलाली कारागारमा रक्तपातः डेढ सय क्षमतामा सात सय कैदी, झडपमा एकको मृत्यु, चार निकायका प्रमुखलाई पनि प्रवेश निषेध

 धनगढीस्थित कैलाली कारागार शुक्रबार मध्यराति भएको भीषण झडपपछि तनावग्रस्त बनेको छ। कैदी स्थानान्तरणको विवादबीच दुई समूहबीच भएको हातापाईमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पुष्टि गर्नुभयो।

झडपमा ४७ जना कैदी घाइते भएका छन्। दुईको अवस्था गम्भीर रहेकाले सेती प्रादेशिक अस्पतालको आइसीयूमा राखिएको छ भने बाँकीलाई कोरोनाकालमा बनाइएको सेतीको कोभिड अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा घाइते कैदीका आफन्त र पत्रकारको प्रवेशमा रोक लगाइएको छ, र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कारागारभित्र पनि अवस्था अत्यन्त तनावपूर्ण बनेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका बल बढाइए पनि कैदीहरूले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र चारै सुरक्षा निकायका प्रमुखलाई कारागार प्रवेश गर्न नै रोक लगाए।

कैदीहरूले ढोका ताली लगाएर सुरक्षा निकायलाई फर्कन बाध्य पारेपछि जिल्ला प्रशासन कार्यालयमा तत्काल सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ। डेढ सय कैदी क्षमता भएको कारागारमा सात सयभन्दा बढी कैदी राखिँदा लामो समयदेखि विवाद र झडप दोहोरिँदै आएको छ।

बिहीबार मात्र भएको अर्को झडपमा पनि छ जना घाइते भएका थिए। यति संवेदनशील घडीमा कारागार प्रमुख बसन्त खत्री भने बिदामा रहेकाले व्यवस्थापन थप कमजोर भएको आरोप उत्रिएको छ।