समाचार

स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी ७७ दरबन्दी कटौती

स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी ७७ दरबन्दी कटौती

गण्डकी प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट नयाँ सङ्गठन तथा व्यवस्थापन (ओएनएम) प्रतिवेदन पारित गरेको छ । यस निर्णयसँगै प्रदेशस्तरीय कार्यालय संरचना फेरबदल गर्ने प्रक्रियामा ठूलो कदम चालेको सरकारको दाबी छ।

यसअघि साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नौवटा कार्यालय खारेज गर्ने र दुई दर्जनभन्दा बढी कार्यालयलाई गाभ्ने निर्णय लिएको थियो । सो क्रममा करिब १८५ दरबन्दी कटौती भएको थियो भने, ताजा प्रतिवेदन पारित भएपछि कटौती दरबन्दीको संख्या बढेर ३०४ पुगेको हो ।

आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता डा. टकराज गुरुङले एक सचिवसहित करिब तीन सय दरबन्दी कटौती भएको स्पष्ट पार्दै भने, “थोरै अझै तलमाथि हुन सक्छ, आधिकारिक विवरण निर्णय प्रमाणीकरणपछि आउँछ । तर हालका निर्णयअनुसार तीन सय हाराहारी दरबन्दी कटौती भएको छ ।”

प्रतिवेदनअनुसार सबैभन्दा बढी ७७ दरबन्दी स्वास्थ्य मन्त्रालयमा कटौती भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा कम सात दरबन्दी मात्रै घटाइएको छ । ओएनएम प्रक्रिया लामो समय लागेकाले गण्डकी सरकारले साउनमै गर्नुपर्ने कर्मचारी सरुवासमेत रोकिएको अवस्था छ ।

तत्कालका लागि दरबन्दी कटौती भएका कार्यालयका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर हुने व्यवस्था मिलाइएको छ । उनीहरूको व्यवस्थापनबारे छुट्टै योजना बनाउन सरकार तयारी अवस्थामा छ ।

यो प्रक्रिया सन् २०२५ (वि.सं. २०८१ चैत) मा गठन गरिएको प्रदेश प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिको सिफारिसपछि अघि बढाइएको हो । समितिको संयोजक नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेल थिए ।

संघीयताको कार्यान्वयनसँगै प्रदेश सरकारहरू आन्तरिक संरचना पुनःपरिभाषित गर्दै आएका छन् । गण्डकीको यो निर्णयले कर्मचारी व्यवस्थापन र सेवा प्रवाहमा छोटो समयमै असर पार्ने देखिन्छ, तर दीर्घकालमा प्रदेश प्रशासनलाई कस्तो स्वरूप दिने भन्ने बहस अझै खुला नै छ।