जनकपुरको शांति र सदभावमाथि सरकारको नियोजित हमला :निर्दोष हिन्दू नेताको ग्रिफ्तारीको घोर निंदा

जनकपुरको रुपैठामा गणेश पूजाको मूर्ति विसर्जन शोभायात्रा क्रममा भएको हिंसात्मक घटनाप्रति राष्ट्रिय एकता अभियानले गम्भीर आपत्ति जनाएको छ। अभियानले यस घटनालाई धार्मिक स्वतन्त्रतामाथि प्रहार र सामाजिक सद्भाव तोड्ने सुनियोजित षड्यन्त्रको रूपमा चित्रण गरेको छ।
रुपैठामा गणेश पूजाको अवसरमा आयोजित शोभायात्रामा शान्तिपूर्ण रूपमा सहभागी भएका हिन्दू समुदायमाथि "जेहादी प्रवृत्तिका समूह"ले आक्रमण गरेको अभियानको आरोप छ। यस घटनापछि प्रहरी प्रशासनले वास्तविक आक्रमणकारीलाई कारबाही गर्ने सट्टा, उल्टै हिन्दू समुदायका लोकप्रिय नेता मनीष हिन्दू र जीतेन्द्र दासलाई घरमै गएर पक्राउ गरेको भन्दै अभियान आक्रोशित बनेको छ।
सरकार र प्रशासनमाथि पक्षपातको आरोप
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले जारी गरेको विज्ञप्तिमा सरकारले धार्मिक विभाजनलाई बढावा दिने नीतिगत चरित्र देखाएको उल्लेख छ। उनले भने, "यो कुनै सामान्य झडप होइन, सत्तामा रहेका केही राजनीतिक शक्तिहरूले आफ्नो स्वार्थका लागि मधेसको सामाजिक सद्भाव भङ्ग गर्ने सुनियोजित खेल हो। दुर्भाग्यवश, प्रहरी प्रशासनले वास्तविक दोषीलाई संरक्षण गर्दै निर्दोषलाई लक्षित गरेको छ।"
विज्ञप्तिमा नेपाल सरकार र सुरक्षा निकायले घटनालाई नियन्त्रण गर्न असफल भएको मात्र नभई, संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रतामाथि नै प्रहार गरेको आरोप लगाइएको छ। संविधानको धारा २६ (१) ले प्रत्येक नागरिकलाई धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने अधिकार दिएको भए पनि गणेश पूजाको शोभायात्रा जस्तो शान्तिपूर्ण गतिविधिमा आक्रमण हुनु र त्यसपछि निर्दोष नेताको गिरफ्तारी हुनु संविधानकै आत्मामाथि प्रहार भएको अभियानको दाबी छ।
मधेसमा तनाव बढ्ने चेतावनी
अभियानले प्रहरी प्रशासनको दमनकारी कार्यले जनकपुरको शान्तिपूर्ण वातावरण थप तनावग्रस्त हुने चेतावनी दिएको छ। विनय यादवले भने, "यो घटनाले हिन्दू समुदायलाई दबाउने मात्र होइन, सम्पूर्ण मधेसको सामाजिक संरचनालाई कमजोर बनाउने जोखिम बोकेको छ।"
अभियानका मागहरू
राष्ट्रिय एकता अभियानले घटनापछि चार बुँदे माग सार्वजनिक गरेको छः
१. कुनै पनि शर्त बिना तत्काल मनीष हिन्दू र जीतेन्द्र दासलाई रिहा गर्नुपर्ने।
२. प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप अन्त्य गरी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने।
३. शोभायात्रामाथि आक्रमण गर्ने समूहलाई तत्काल पहिचान गरी कानुनको कठघरामा ल्याउनुपर्ने।
४. यदि यी जायज माग बेवास्ता भए आन्दोलनको बाटो लिन बाध्य हुने र त्यसबाट हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकार र सत्ताधारी दलले लिनुपर्ने।
न्यायको लागि आह्वान
अभियानले सम्पूर्ण हिन्दू समुदाय, नागरिक समाज र लोकतन्त्रप्रेमी जनतालाई यस अन्यायपूर्ण घटनाविरुद्ध आवाज उठाउन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, "हिन्दू समाजमाथि भएको यो अन्याय केवल एउटा समुदायको मुद्दा होइन, यो सम्पूर्ण नेपाली जनताको लोकतान्त्रिक अधिकार र सामाजिक न्यायसँग जोडिएको प्रश्न हो।"