समाचार

अफगानिस्तानको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, ६ सयभन्दा बढीको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, ६ सयभन्दा बढीको मृत्यु

अफगानिस्तान फेरि एकपटक ठूलो प्राकृतिक विपत्तिको मारमा परेको छ । सोमबार राति गएको शक्तिशाली भूकम्पले देशको पूर्वी क्षेत्रमा व्यापक क्षति पुर्‍याउदै सयौँको ज्यान लिएको छ । गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार कुनार प्रान्तमा मात्रै ६१० जनाको मृत्यु भएको छ भने झन्डै १,३०० जना घाइते भएका छन् । त्यस्तै, नङ्गरहार प्रान्तमा थप १२ जनाको मृत्यु भएको र २५५ जना घाइते भएको रिपोर्ट गरिएको छ ।

भूकम्प राति मध्यरातअघि आएको थियो, जसको धक्का राजधानी काबुल हुँदै पाकिस्तानको इस्लामाबादसम्म अनुभव गरिएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजिएस) का अनुसार कम्पनको केन्द्र नङ्गरहारको जलालाबादबाट करिब २७ किलोमिटर टाढा, सतहदेखि ८ किलोमिटर गहिराइमा थियो । सतह नजिकै केन्द्रित भएकाले क्षति बढेको अनुमान गरिएको छ । त्यसपछि पनि लगातार परकम्पहरू महसुस गरिएको थियो, जसमा ५.२ म्याग्निच्युडको अर्को शक्तिशाली झड्का समावेश छ ।

तालिबान प्रशासनका अधिकारीहरू र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । राष्ट्रसंघले एक्समा वक्तव्य जारी गर्दै “अफगानिस्तानको पूर्वी भागमा आएको विनाशकारी भूकम्पका कारण सयौँको ज्यान गएको समाचारले गहिरो दुःख पुगेको” भन्दै आपत्कालीन सहायता पु¥याइरहेको जनाएको छ ।

भौगोलिक रूपमा युरेसियन र भारतीय प्लेटको सङ्गम क्षेत्रमा पर्ने हिन्दुकुश पर्वत शृङ्खला भूकम्पीय गतिविधि बढी हुने क्षेत्र हो । त्यसैले अफगानिस्तान बारम्बार यस्ता प्रकोपको चपेटामा पर्छ । यसअघि पनि ठूला भूकम्पहरूले ठूलो क्षति पुर्‍याएका छन्—सन् २०२२ मा पक्तिकामा गएको ५.९ म्याग्निच्युडको भूकम्पमा १,००० भन्दा बढीको मृत्यु भएको थियो भने दशौँ हजार विस्थापित भएका थिए । त्यस्तै, सन् २०१५ मा पाकिस्तान–अफगानिस्तान क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको भूकम्पले ३८० भन्दा बढीको ज्यान लिएको थियो ।

गत हप्तामात्र नङ्गरहार प्रान्तमा आएको बाढीले पाँच जनाको मृत्यु गराइसकेको अवस्थामा फेरि आएको यो भूकम्पले जनजीवन झन् कठिन बनाएको छ । लामो युद्ध, राजनीतिक अस्थिरता र तालिबान सत्तामा फर्किएपछि विदेशी सहयोग घटेको कारण, यस्तो संकटमा अफगानिस्तान अझ असहाय बनेको छ । उद्धार र राहतको तत्कालीन प्रयास भए पनि आगामी दिनमा विस्थापित, घाइते र प्रभावित परिवारका लागि दीर्घकालीन सहयोगको आवश्यकता स्पष्ट देखिएको छ