कठिन घडीमा पनि काँधमा काँधः मोदी–पुटिनको शक्तिशाली सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा कठिन समयमै पनि दुवै मुलुकले काँधमा काँध मिलाउँदै अगाडि बढेको तथ्यलाई जोड दिनुभयो। नयाँदिल्ली र मस्कोबीचको साझेदारीलाई उहाँले केवल दुई देशका लागि मात्र नभई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो। मोदीका शब्दमा, “सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन्।”
युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय राजनीति तनावपूर्ण भइरहेका बेला मोदीले शान्ति प्रयासलाई स्वागत गर्दै सबै पक्षलाई द्वन्द्व अन्त्यतर्फ रचनात्मक कदम चाल्न आह्वान गर्नुभयो। उहाँले मानवताको साझा चाहना शान्ति भएको स्मरण दिलाउँदै स्थायी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
भारत–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउन मोदीले नियमित उच्चस्तरीय सम्पर्क र छलफलले आपसी विश्वास बलियो बनाएको टिप्पणी गर्नुभयो। आगामी डिसेम्बरमा पुटिनको नयाँदिल्ली भ्रमणप्रति भारतीय जनतामा उत्सुकता रहेको भन्दै उहाँले “२३औँ शिखर सम्मेलनमा एक अर्ब ४० करोड भारतीय नागरिक तपाईंको प्रतीक्षामा छन्” भन्ने अभिव्यक्ति दिनुभयो।
पुटिनले आफ्नो तर्फबाट भारत र चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि गरेको पहलको सराहना गर्नुभयो। तर, उनले पश्चिमी मुलुकहरूलाई आक्षेप लगाउँदै “युक्रेनको संकट आक्रमणको परिणाम होइन, बरु पश्चिमी सहयोगीहरूले समर्थन गरेको किएभमा भएको ‘कू’ बाट उत्पन्न भएको हो” भन्ने दाबी गर्नुभयो।
यसैबीच, चीनका राष्ट्रपति सी जिनपिङले शाङ्घाई सहयोग संगठन (एससिओ) का राष्ट्रप्रमुखहरूको २५औँ बैठकलाई सम्बोधन गर्दै निष्पक्षता र न्यायलाई अगाडि बढाउन आह्वान गर्नुभयो। उहाँले दोस्रो विश्वयुद्धको ऐतिहासिक परिप्रेक्ष्यलाई विकृत नगर्न, शीतयुद्ध मानसिकताको विरोध गर्न र टकराव तथा दबाबका अभ्यासहरूलाई निरुत्साहित गर्न जोड दिनुभयो।
सन् २०२५ को एससिओ शिखर सम्मेलनलाई बहुध्रुवीय विश्वव्यवस्थातर्फको बढ्दो प्रवृत्तिको प्रतीकका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लेनदेनमुखी नीतिले धेरै सहयोगीलाई दूरी बनाउन प्रेरित गरेको पृष्ठभूमिमा यो सम्मेलन विशेष महत्त्वपूर्ण देखिएको छ। बदलिँदो शक्ति समीकरणबीच भारत–रुसको सहकार्य र चीनको आह्वानले विश्व राजनीतिमा नयाँ सन्तुलनको खोजीलाई प्रस्ट पारेको छ।