समाचार

सशस्त्र प्रहरीको ऐतिहासिक आरोहण: डीएसपी पौडेल टोलीले चुलु फार ईस्टमा नेपालको झण्डा फहरायो!

सशस्त्र प्रहरीको ऐतिहासिक आरोहण: डीएसपी पौडेल टोलीले चुलु फार ईस्टमा नेपालको झण्डा फहरायो!

सशस्त्र प्रहरी बल, नेपालका नायव उपरीक्षक सुरज पौडेलसहित सात जना सशस्त्र प्रहरी कर्मचारीले मनाङस्थित चुलु फार ईस्ट हिमाल (६,०३८ मिटर) सफलतापूर्वक आरोहण गरेका छन्। असोज २५ गते बिहान ७ बजे टोलीले हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको संस्थाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यो आरोहण सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएको थियो। संस्थाले भनेको छ कि यस्तो अभियानले पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा सञ्चालन भइरहेका प्रशिक्षण कार्यक्रमका लागि आवश्यक दक्ष प्रशिक्षक उत्पादनमा योगदान पुर्‍याउनेछ। साथै, यसले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसअघि सशस्त्र प्रहरी बल, नेपालले चुलु फार ईस्ट हिमाल आरोहण अनुमति खुला गराउन पहल गरेको थियो। सोही पहलपछि संस्थालाई कानुनी रूपमा आरोहणको अवसर प्राप्त भएको हो। यसअघि पर्वतारोहीहरूले चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट आरोहण गर्ने प्रचलन थियो। अब सशस्त्र प्रहरी बलको आरोहणपछि उक्त हिमाललाई आधिकारिक रूपमा पृथक आरोहण गन्तव्यको मान्यता प्राप्त भएको बताइएको छ।

टोलीमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित सात जना सदस्य सहभागी थिए। उनीहरूलाई पर्वतारोहण गाइड निम तेम्बा शेर्पा र सुम्बा छिरी शेर्पाले फोर्टिन पिक्स एक्सपिडिसन मार्फत प्राविधिक निर्देशन दिएका थिए।

सशस्त्र प्रहरी बलले पर्वतीय क्षेत्रका चुनौतीपूर्ण उद्धार कार्यमा आफ्ना जनशक्तिलाई प्राविधिक रूपमा सुदृढ बनाउन र हिमाली भौगोलिक अवस्थासँग नजिक बनाउने उद्देश्यले यस्तो अभियानलाई दीर्घकालीन योजना अन्तर्गत अघि बढाइरहेको जनाएको छ। यो आरोहणले सुरक्षा संयन्त्रको शारीरिक क्षमता मात्र होइन, नेपालका हिमाली भूभागमा सम्भावित उद्धार कार्यमा आत्मनिर्भर बन्ने प्रयासको प्रतीकका रूपमा पनि लिनु सकिन्छ।