समाचार

श्री शिवम् होल्डिङ्सको चौथो वार्षिक सभा सम्पन्न!

श्री शिवम् होल्डिङ्सको चौथो वार्षिक सभा सम्पन्न!

श्री शिवम् होल्डिङ्स लिमिटेड, जो शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो, आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको  छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरत्न शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरूलाई कुल रु ११ करोड ६० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै एजेन्डा सर्वसम्मतिले पारित भएका छन्।

श्री शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा परिचित ब्रान्ड ‘शिवम् सिमेन्ट’ उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत हिस्सा विभिन्न क्षेत्रका सफल नेपाली उद्यमी र व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर चार वर्षसम्म शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ।

हाल कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड रहेको छ। कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि २० प्रतिशत बराबरका रु १ अर्ब १६ करोड मूल्यका शेयरहरू प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र स्वीकृतिको प्रतिक्षामा रहेको जानकारी सभामा दिइयो।

श्री शिवम् होल्डिङ्स लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको सिमेन्ट उद्योग, शिवम् सिमेन्ट प्रा.लि.मा ३० प्रतिशत शेयर लगानी गरेको छ, जसमा बाँकी ७० प्रतिशत लगानी चीनको रहेको कम्पनीले उल्लेख गरेको छ। गण्डकी प्रदेश, नवलपरासी (पूर्व) को त्रिवेणी गाउँपालिका–सर्दीमा अवस्थित उक्त उद्योगले अत्याधुनिक प्रविधिबाट दैनिक ६,००० मेट्रिक टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने क्षमता राखेको छ।

उद्योगले उत्पादन प्रक्रियामा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट बिजुली उत्पादन गरी आफ्नै उद्योग सञ्चालनमा प्रयोग गर्ने प्रणाली अपनाएको छ। कम्पनीले पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको र वर्तमानमा पूर्ण क्षमतामा सञ्चालनमा रहेको बताएको छ।

वार्षिक साधारण सभामा कम्पनीले शेयरधनी, साझेदार र सरोकारवालाप्रति निरन्तर विश्वास, समर्थन र सहयोगका लागि आभार व्यक्त गर्दै आगामी वर्षमा पनि सुदृढ व्यवसायिक प्रगति र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।