समाचार

नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा अटो–रिन्यू सेवा सुरु, अब प्याकेज स्वतः नवीकरण हुनेछ

नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा अटो–रिन्यू सेवा सुरु, अब प्याकेज स्वतः नवीकरण हुनेछ

नेपाल टेलिकमले जीएसएम पोस्टपेड सेवामा नयाँ Recurring Sajilo Unlimited Package  सुरु गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, असोज ३१ गतेदेखि लागू हुने यो प्रणाली अन्तर्गत ग्राहकले खरिद गरेका अनलिमिटेड प्याकेजहरूको अवधि सकिएपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वचालित रूपमा त्यही प्याकेज पुनः सक्रिय हुनेछ।

नेपाल टेलिकमका अनुसार यो सेवा ग्राहकको माग र सुविधा विस्तारका लागि ल्याइएको हो। नयाँ प्रणालीले हाल प्रचलित ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ अनलिमिटेड प्याकेजहरूलाई समेटेको छ। पहिलो पटक प्याकेज खरिद गर्दा नै स्वचालित नवीकरणको विकल्प चयन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार महिनाको १५ तारिखमा आवश्यक शुल्क ग्राहकको खाताबाट काटिनेछ।

विज्ञप्तिमा भनिएको छ कि सो समयमा पर्याप्त रकम नभएमा सेवा अस्थायी रूपमा अवरुद्ध हुनेछ र भुक्तानीपछि पुनः सक्रिय हुनेछ। साथै, ग्राहकले आफूलाई उपयुक्त अनलिमिटेड प्याकेज छनोट गर्न वा चाहनाअनुसार फरक दरका अन्य प्याकेज खरिद गर्न सक्ने विकल्प पनि कायम गरिएको छ।

कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, नयाँ प्रणालीले ग्राहकलाई हरेक महिनाको प्याकेज नवीकरणका लागि छुट्टै प्रक्रिया गर्नुपर्ने झन्झट हटाउनेछ। “सेवा निरन्तर रहोस् भन्ने उद्देश्यले टेलिकमले ग्राहकमैत्री ढङ्गमा स्वचालित नवीकरण प्रणाली लागू गरेको हो,” उनले विज्ञप्तिमार्फत जनाएका छन्।

ग्राहकले यो सेवा सुरु गर्नका लागि मोबाइलबाट *1415*2*4# डायल गरी विकल्प छनोट गर्न सक्नेछन्। थप जानकारीका लागि नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र १४९८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

नेपाल टेलिकमले हालसालै GSM Postpaid Offer प्रयोगकर्ताहरूका लागि भ्वाइस, डाटा र एसएमएस सेवा एकीकृत गरी थप डिजिटल सुविधा विस्तार गरिरहेको बताएको छ। कम्पनीको भनाइमा, नियमित प्रयोगकर्ताका लागि यो नयाँ योजना सञ्चार सेवाको सहजता र पहुँच अभिवृद्धिको दिशामा महत्वपूर्ण कदम हो।