सुडानको गृहयुद्धले अली दिनारसहित डारफुरका ऐतिहासिक संग्रहालय ध्वस्त

सुडानमा झण्डै डेढ वर्षदेखि जारी रक्तपातपूर्ण द्वन्द्वले केवल जनजीवन नै होइन, देशको सांस्कृतिक धरोहरलाई पनि गहिरो चोट पुर्याएको तथ्य सतहमा आएको छ। पश्चिमी सुडानको डारफुर क्षेत्रको एल–फाशर शहरमा रहेको अली दिनार सङ्ग्रहालय, जुन १८औँ शताब्दीमा राजनीतिक शक्ति केन्द्रका रूपमा ख्याति कमाएको भवनमा स्थापित थियो, अहिले तोपगोला र गोली प्रहारले क्षतिग्रस्त भइसकेको छ। भवनका झ्याल भाँचिएका छन्, भित्रका ऐतिहासिक वस्तु टुक्राटुक्रा भएर चिन्दै नचिनिने अवस्थामा पुगेका छन्। स्थानीय बासिन्दाले यो संग्रहालयलाई “इतिहास संरक्षणको थलो” का रूपमा चिनेपनि अहिले त्यहाँ युद्धले खण्डहर मात्र बाँकी रहेको बताएका छन्।
दक्षिण डारफुर राज्यको राजधानी न्यालामा रहेको अर्को संग्रहालयसमेत अब पहुँचबाहिर परेको छ। स्थानीय स्रोतहरूले सङ्ग्रहालय वरपरको क्षेत्र पूर्ण रूपमा ध्वस्त भइसकेको उल्लेख गर्दै अहिले त्यहाँ केवल र्यापिड सपोर्ट फोर्स (RSF) का लडाकुहरूको मात्र आवाजाही हुने बताएका छन्।
यसबीच, लामो समय बन्द भएपछि पुनर्निर्माण गरी सर्वसाधारणका लागि खुलाइएको अर्को संग्रहालय सैनिक आधारशिविरमा रूपान्तरण भएको बताइएको छ। सांस्कृतिक सम्पदाका जानकार अब्दुल लतीफका अनुसार, “जनताका लागि खुलेको यो संग्रहालय फेरि सैनिक प्रयोगको थलो बनेको छ,” जसले सुडानको युद्धले सांस्कृतिक धरोहरमाथि पारेको असरलाई स्पष्ट देखाउँछ।
विश्लेषकहरूको भनाइमा, गृहयुद्धले सुडानको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदामा समेत गम्भीर आघात पुर्याएको छ। मानवीय संकटसँगै यस्तो क्षति अझ भयावह बन्न सक्ने भएकाले, यस्ता धरोहर संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित हुनु अपरिहार्य देखिन्छ।