समाचार शेयर

जेन–जी आन्दोलनको प्रभावमा नेप्से कारोबार असोज २ सम्म स्थगित!

जेन–जी आन्दोलनको प्रभावमा नेप्से कारोबार असोज २ सम्म स्थगित!

जेन–जी आन्दोलनका कारण तीन दिनदेखि ठप्प बनेको पुँजीबजार अझै एक सातासम्म बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार जारी गरेको सूचनामा असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार स्थगित रहने उल्लेख छ।

नेप्सेले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा ९(१०) खण्ड (घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार स्थगित गरिएको स्पष्ट पारेको छ। यसअघि भदौ २३ गतेदेखि सुरू भएको जेन–जी आन्दोलनको उग्र प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनाका कारण नेप्सेले तीन दिनसम्म कारोबार नगर्ने घोषणा गरेको थियो।

आन्दोलनका कारण सरकारी तथा निजी कार्यालयदेखि बैंक र वित्तीय संस्था समेत प्रभावित भएका थिए। यस्तो अवस्थामा लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्दै बजार स्थगित गरिएको नेप्सेको तर्क छ।

नेपालको पुँजीबजार इतिहासमै यस्ता राजनीतिक आन्दोलनका कारण बारम्बार प्रभावित हुने गरेको छ। यस पटकको लामो बन्दले खासगरी साना तथा दैनिक कारोबारमा निर्भर लगानीकर्तामाथि थप दबाब पारेको विश्लेषकहरूको आकलन छ।

अब प्रश्न के उठ्छ भने—यो बन्दले बजारमा अस्थिरता झन् बढाउने हो कि वा राजनीतिक स्थिरतापछि लगानीकर्ताको विश्वास पुनः फर्किने हो। पुँजीबजारमा विश्वसनीयता कायम गर्न दीर्घकालीन सुधारको खाँचो अझ स्पष्ट बन्दै गएको छ।