पर्यटन क्षेत्रमा लगभग २५ अर्बको नोक्सानी भएको अनुमान !

भदौ २३ र २४ गतेको ‘जेन–जी’ प्रदर्शनले नेपाललाई मानवीय, भौतिक र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर असर पुर्याएको छ। राज्यका तीनवटै अङ्ग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—माथि भौतिक आक्रमण हुनुका साथै पत्रकारितामाथि समेत आक्रमण भएपछि लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रयास भएको मूल्याङ्कन भइरहेको छ। निजी सम्पत्तिमा क्षति पुगेको छ भने अस्पतालहरूमा अहिले पनि ठूलो सङ्ख्यामा घाइतेहरू उपचाररत छन्।
पर्यटन सिजन सुरु हुनै लाग्दा आएको यो संकटले मुलुकको पर्यटन क्षेत्रमा तत्काल नकारात्मक प्रभाव पारेको देखिएको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार सेप्टेम्बर २०२५ मा करिब साढे २५ हजार विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो अगष्टको ८८ हजारभन्दा निकै कम हो। विदेशी नागरिकहरूको केही बुकिङ रद्द भएका छन् भने पर्यटकीय पूर्वाधारहरूमा समेत तोडफोड, आगजनी र क्षति भएको छ। होटल संघका अनुसार झण्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ, जसमा काठमाडौंको हिल्टन होटल मात्र करिब ८ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। देशभर होटल क्षेत्रमै प्रारम्भिक अनुमानमा २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखिन्छ।
तर, विज्ञ तथा सरोकारवालाले दीर्घकालीन निराशा भन्दा पनि छिट्टै सुधार हुने अपेक्षा व्यक्त गरेका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले वर्तमान अवस्था विगतका भूकम्प, नाकाबन्दी वा महामारीजस्ता विपद् भन्दा फरक रहेको भन्दै भारत र चीनजस्ता स्रोत बजारमा खासै असर नपर्ने विश्वास व्यक्त गरे। उनले पर्यटन पुनःरुत्थानका लागि नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार आवश्यक रहेको बताए।
अर्थशास्त्री डा. समीर खतिवडाले केही पूर्वाधारमा क्षति भए पनि पदयात्रा, धार्मिक र साहसिक पर्यटन प्रभावित नभएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा देखिएको अव्यवस्था भने चुनौती हुनसक्ने चेतावनी दिए। उनले नेपाललाई “कोर्स करेक्सन” को अवसरका रूपमा हेर्नुपर्ने र सुशासनसहित सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन पुनःरुत्थानका लागि ‘ड्राफ्ट प्लान’ तयार पारिएको र छिट्टै सार्वजनिक हुने बताए। उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन्, जसलाई सुरक्षित अनुभव दिलाउन प्राथमिकता दिइएको छ।
होटल संघका अध्यक्ष विनायक शाहले पर्यटन पुनःरुत्थानलाई सामूहिक प्रयासले मात्र सम्भव हुने भन्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे। पाटा नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्ट, पर्वतारोहण संघ र टानले समेत विषम परिस्थितिबाट निकास दिन सबैले योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालको पर्यटन सन् २०१९ मा अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो, ११ लाख ९७ हजारभन्दा बढी विदेशी आगमनसँगै। तर, भूकम्प, नाकाबन्दी र महामारीपछि विस्तारै लयमा फर्किएको क्षेत्रलाई पुनः संकटले चुनौती दिएको छ। यद्यपि, विगतमा जस्तै विपद्पछि चाँडै उभिन सकेको अनुभवलाई आधार बनाउँदै सरोकारवालाहरूले पर्यटन फेरि उठ्ने विश्वास व्यक्त गरेका छन्। अहिले देखिएको कालोबादलबीच पनि सम्भावनाका किरणहरू विद्यमान छन् भन्ने उनीहरूको आकलन छ।