प्रधानमन्त्री कार्कीको पहिलो निर्देश: भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता

सिंहदरबारमा पदबहालीपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उच्च पदस्थ कर्मचारीहरूलाई सम्बोधन गर्दै भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू पदको रसास्वादनका लागि नभई सृजनात्मक युवापुस्ताको चाहनाअनुसार सेवा गर्न आएको बताउँदै, छ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसद्लाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
कार्कीले हालसालै देशले भोग्नुपरेको राजनीतिक अशान्ति र जनधनको क्षतिलाई स्मरण गर्दै राज्यका महत्वपूर्ण प्रमाण र अभिलेखहरू नष्ट भएको, सुरक्षा निकायका सवारी साधन जलाईएको र अत्यावश्यक संरचनामाथि छानीछानी आक्रमण गरिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, यस्तो स्तरको हिंसा नेपालमा पहिलोपटक भएको हो र यसलाई नियोजित षडयन्त्रका रूपमा लिन सकिने आधार देखिन्छ। “यदि नेपाली नै भएर यस्तो कार्य भएको हो भने लाज मान्नुपर्ने हो,” कार्कीले भन्नुभयो, “अनुसन्धान पूरा गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनै पर्छ।”
प्रधानमन्त्रीले क्षतिपूर्ति र पुनःनिर्माणका काम उपलब्ध स्रोतसाधनबाटै गर्नुपर्ने आवश्यकता औँल्याउँदै, यो नृशंस आक्रमणको सामना एकताबद्ध भएर मात्र सम्भव हुनेमा जोड दिनुभयो। उहाँले महाराजगञ्जमा जलेको प्रहरी वृत्त पुनःनिर्माण गर्न स्थानीय व्यवसायीहरू नै अघि सरेको उदाहरण प्रस्तुत गर्दै, “हामी सबैले यसरी नै एकअर्कालाई साथ दिनुपर्छ, आलोचना होइन सहकार्य चाहिन्छ,” भन्नुभयो।
यस अवसरमा मुख्यसचिव एकनारायण अर्यालले सरकारी संरचनामा व्यापक क्षति पुगेको र सेवा प्रवाह निरन्तरता दिन पुनःस्थापना चुनौतीपूर्ण रहेको बताए। उहाँले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै, प्राथमिकता निर्धारण गरी आवश्यक बजेटको व्यवस्था गरेर पुनःनिर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
जेनजी समूहको भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न अस्थिरताबीच राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। आज गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा उहाँले पदबहाली गर्दै देशलाई पुनःस्थापना र निर्वाचनतर्फ अघि बढाउने सङ्कल्प व्यक्त गर्नुभयो।