समाचार

फोहर सङ्कलन रोकियो: महानगरले घरमै सुरक्षित राख्न आग्रह

फोहर सङ्कलन रोकियो: महानगरले घरमै सुरक्षित राख्न आग्रह

काठमाडौँ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध आएपछि काठमाडौँ महानगरपालिकाले फोहर अस्थायी रूपमा सङ्कलन गर्न रोक लगाएको छ। महानगरले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घर वा कम्पाउण्डभित्रै फोहर सुरक्षित रूपमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार अन्तिम विसर्जन स्थलमा उत्पन्न समस्या समाधान नभएसम्म फोहर उठाउने काम स्थगित गरिएको हो। सूचनामा भनिएको छ, “सडक वा सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न र आफ्नो घरभित्रै सुरक्षित रूपमा राख्न सबैलाई अनुरोध गरिन्छ।”

बन्चरेडाँडा क्षेत्रमा स्थानीयको विरोध र सडक अवरुद्ध भएपछि फोहर गाडीहरू विसर्जनस्थल पुग्न नसकिरहेका छन्। यसअघि पनि यस्तै अवरोधका कारण उपत्यकामा फोहर संकट दोहोरिँदै आएको छ।