‘संविधान जेन–जी विरोधी छ’ — अधिवक्ता स्वागत नेपालको आक्रोश
 
                                काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले हालको नेपालको संविधानलाई ‘जेन–जी विरोधी’ भन्दै कडा आपत्ति जनाएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले हालको संविधानले नयाँ पुस्ताको राजनीतिक सहभागिता रोक्ने प्रावधानहरू समावेश गरेको आरोप लगाउँदै भने, “यो संविधान जेन–जीलाई सांसद हुनै नदिने गरी लेखिएको छ।”
उनका अनुसार संविधानले राष्ट्रिय सभा, संवैधानिक निकाय र अन्य प्रमुख संस्थाहरूमा जेन–जी पुस्ताको प्रतिनिधित्व अस्वीकार गरेको छ। उनले प्रश्न गरे, “अब राष्ट्रिय सभाको चुनाव हुँदैछ, तर त्यसमा एउटा पनि जेन–जी उठ्न पाउँदैन भन्ने प्रावधान छ। यस्तो संविधान जलाउने कि नजलाउने?”
स्वागत नेपालले २०६३ सालमा माओवादीहरूलाई चुनाव नगराई संसदमा पुर्याएको उदाहरण दिँदै भने, “जस्तो त्यतिबेला ८३ जना माओवादी सांसद सिधै जंगलबाट ल्याइएका थिए, अब त्यस्तै गरी ८० प्रतिशत जेन–जी युवालाई संसदमा ल्याउनुपर्छ। आन्दोलनबाट, कुनै चुनावबाट होइन।”
उनले राजसंस्थाको पुनर्स्थापनाको पक्षमा रहेका शक्तिहरूबीच एकता आवश्यक भएको पनि औंल्याए। उनका अनुसार कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरू राजसंस्था पुनर्स्थापनातर्फ झुकिरहेका छन्।
स्वागत नेपालले भने, “अहिले कांग्रेस, एमाले र रास्वपाका धेरै नेताहरू अब राजसंस्था चाहिने रहेछ भनेर एकतावद्ध हुँदै हुनुहुन्छ। साँच्चिकै नेपाली कांग्रेस भनेको राजसंस्थावादी कांग्रेस हो — जसका विचारका प्रतिनिधि डा. सुनिल शर्मा र शंकर भण्डारी हुन्।”
उनले आगामी राजनीतिक आन्दोलनमा जेन–जी पुस्ताको निर्णायक भूमिका हुने दाबी गर्दै संविधान संशोधन वा नयाँ संविधानको माग उठाउने संकेत पनि गरे।
स्वागत नेपाल जेन–जी 
                         
                                                         
                                                         
                                                