समाचार राजनीति

पूर्वराष्ट्रपति भण्डारीको सन्देश: बालबालिकामा लगानीले सुनिश्चित गर्छ समृद्ध नेपालको भविष्य

पूर्वराष्ट्रपति भण्डारीको सन्देश: बालबालिकामा लगानीले सुनिश्चित गर्छ समृद्ध नेपालको भविष्य

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस २०८२ का अवसरमा सन्देश जारी गर्दै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोग अन्त्य गर्ने साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ। उहाँका अनुसार बालबालिका केवल भविष्यका कर्णधार मात्र नभई सभ्य समाज र समृद्ध नेपालको आधारशिला हुन्, जसका लागि परिवार, समाज र राष्ट्र सबैले समान जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ।

भण्डारीले बालबालिकालाई जिम्मेवार र अनुशासित नागरिक बनाउन शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न जोड दिनुभयो। उहाँले बालबालिकामा गरिएको लगानीलाई दीगो र सुनिश्चित भविष्य निर्माणको बलियो आधारका रूपमा चित्रण गर्दै सकारात्मक हस्तक्षेप गर्न आग्रह गर्नुभयो।

सन्देशमा उहाँले चिनियाँ दार्शनिक कन्फ्युसिएसको भनाइ उद्धृत गर्दै बालबालिकाको शिक्षामा गरिएको दीर्घकालीन लगानी नै स्थायी र सबल समाज निर्माणको प्रमुख बाटो भएको उल्लेख गर्नुभयो। उहाँले संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै “बालबालिकामा लगानी” भन्ने राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन शुभकामना व्यक्त गर्नुभयो।

यस अवसरमा भण्डारीले बालमैत्री समाज निर्माणलाई सबैको साझा कर्तव्य बताउँदै आगामी पुस्तालाई उज्ज्वल भविष्य दिन आजैबाट ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।