जेनजी आन्दोलनका मृतक शहीद घोषित, परिवारलाई १० लाख राहत!

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
सरकारले प्रत्येक शहीद परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउने र आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार सुनिश्चित गर्ने निर्णय गरेको पनि उनले बताए।
अर्यालका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। तीमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै १३४ जना आन्दोलनकारी र ५७ जना प्रहरीसहित १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले ठूलो मानवीय क्षति बेहोर्नु परेपछि सरकारले मृतकलाई शहीद घोषणा गर्दै राहत तथा उपचार व्यवस्था अघि सारेको हो। यो निर्णयले आन्दोलनपछिको राजनीतिक वातावरणलाई केही सहज बनाउने अपेक्षा गरिएको छ, तर घाइतेहरूको दीर्घकालीन उपचार र प्रभावित परिवारको पुनर्स्थापनाका लागि अझ व्यापक कदम आवश्यक रहने देखिन्छ।