नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबारमा पदभार ग्रहण गर्दै

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उहाँ बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय गरिएको छ।
हाल सिंहदरबारको पश्चिमोत्तर भागमा रहेको नयाँ गृह मन्त्रालय भवनलाई प्रधानमन्त्री कार्यालयको रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। यसअघि शुक्रबार शपथग्रहण कार्यक्रमसँगै पदभार ग्रहण गर्ने तयारी भए पनि शपथमा ढिलाइ हुँदा सो प्रक्रिया रोकिएको थियो।
आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासमै बस्दै आएकी छन्। सिंहदरबारमा नयाँ कार्यकक्ष तयार पारिएपछि उहाँको कार्यशैली र निर्णय प्रक्रियाले अस्थिर राजनीतिक परिवेशलाई कुन दिशातर्फ डोर्याउने भन्नेमा देशको ध्यान केन्द्रित भएको छ।