अन्तरिम सरकारका तीन मन्त्री सोमबार शपथ, घिसिङ ऊर्जा, अर्याल गृह–कानुन र खनाल अर्थमा

अन्तरिम सरकारले तीन नयाँ मन्त्री नियुक्त गर्दै सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालय, र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार शपथ ग्रहण सोमबार बिहान ११ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
यसअघि प्रधानमन्त्री कार्कीलाई गत शुक्रबार मात्र राष्ट्रपति पौडेलले अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरेका थिए। तत्कालीन प्रधानमन्त्री र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत सोमबार र मङ्गलबार देशभर, विशेषगरी काठमाडौं उपत्यकामा ‘जेनजी’ प्रदर्शन हिंसामा परिणत भएपछि पदबाट राजीनामा दिएका थिए।
नयाँ मन्त्रीहरूको आगमनले सरकारको प्राथमिकतामा सुरक्षा, आर्थिक व्यवस्थापन र ऊर्जा क्षेत्रमा देखिएका चुनौतीलाई तत्काल सम्बोधन गर्ने अपेक्षा गरिएको छ। राजनीतिक अस्थिरताबीच गठन भएको यो टोलीको कार्यशैलीले आगामी दिनमा अन्तरिम सरकारप्रतिको जनविश्वासलाई आकार दिने देखिन्छ।